फागुन ६, काठमाडौं ।।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई पक्राउ गरेको विरुद्ध चार दल आबद्ध ‘केन्द्रीय संयुक्त संघर्ष समिति’ले सरकारको यस कदमविरुद्ध चर्को विरोध गरेको छ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसहित चार राजनीतिक शक्तिहरू सम्मिलित उक्त समितिले कट्टेल र बास्तोलालाई पक्राउ गरिएको घटनालाई “राजनीतिक प्रतिशोध”को संज्ञा दिँदै तत्काल र बिनाशर्त रिहाइको माग समेत गरेको छ ।
समितिले बुधबार(आज) एक प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका दुवै नेताको तत्काल बिनाशर्त रिहाइको माग गरेको हो ।
जारी प्रेस विज्ञप्तिमा समितिका संयोजक सीपी गजुरेलले अध्यक्ष कट्टेललाई आज दिउँसो करिब १२ बजे कीर्तिपुरको ट्याङ्लास्थित पार्टी कार्यालयबाट प्रहरीले पक्राउ गरेको जनाएका छन्।
विज्ञप्तिअनुसार बिना पक्राउ पुर्जी र स्पष्ट कारण नखुलाइ नियन्त्रणमा लिइएका कट्टेललाई हाल टेकुस्थित अपराध महाशाखामा राखिएको छ।
यसअघि मंगलबार नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का महासचिव बास्तोलालाई काठमाडौंको खिचापोखरी क्षेत्रबाट गिरफ्तार गरिएको थियो।
लगातार दुई शीर्ष नेताको पक्राउपछि यतिबेला राजनीतिक वृत्तमा तरंग फैलिएको छ। संयुक्त संघर्ष समितिले आफूहरूले आगामी संसदीय निर्वाचन बहिष्कार गर्ने नीति सार्वजनिक गरेकै कारण सरकारले दमनको बाटो रोजेको आरोप लगाएको छ।
“निर्वाचन बहिष्कारको नीतिप्रति सरकार असहिष्णु देखिएको छ,” विज्ञप्तिमा उल्लेख छ, “यही कारण प्रतिशोधपूर्ण ढंगले नेताहरूलाई गिरफ्तार गरिएको हो।” सो विज्ञप्तिमा तत्कालीन सत्तापक्षलाई ‘कठपुतली सरकार’को संज्ञा दिँदै यो कदमलाई ‘फासीवादी शैली’को रूपमा व्याख्या गरिएको छ।
“यो गिरफ्तारी संविधान प्रदत्त विचार अभिव्यक्तिको मौलिक अधिकारमाथिको ठाडो आक्रमण हो,” वक्तव्यमा भनिएको छ, “लोकतन्त्रको आवरणमा दमन स्वीकार्य हुन सक्दैन।” नेताहरूको पक्राउपछि समितिले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारीमा गरिरहेको जनाइएको छ।












