फागुन ८, पोखरा ।।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई तीव्रता दिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी आइतबार पोखरामा आयोजना गर्ने भनिएको ‘परिवर्तन उद्घोष सभा’ स्थगित गरेको छ।
चुनावी अभियानको महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको उक्त सभा अन्तिम समयमा आएर रोकिएपछि राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएका छन्।
पार्टीका उपसभापति डोल प्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत २०८२ फागुन १० गते कास्कीको पोखरामा आयोजना गर्ने भनिएको चुनावी सभा “सङ्गठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन लगायतका विशेष कारणले हालका लागि स्थगन गरिएको” उल्लेख गरिएको छ।
विज्ञप्तिमा कार्यक्रम स्थगनको निर्णयलाई पार्टीको आन्तरिक रणनीति र अभियानको प्रभावकारिता बढाउने प्रक्रियासँग जोडेर व्याख्या गरिएको छ। यद्यपि यस कार्यक्रम अब कहिले गर्ने भनेर नयाँ मिति भने सार्वजनिक गरिएको छैन।
यसअघि रास्वपाले शनिबार भैरहवामा आयोजना गर्ने भनिएको अर्को चुनावी कार्यक्रम पनि स्थगित गरिसकेको छ। लगातार दुई प्रमुख कार्यक्रम स्थगित भएपछि पार्टीले आफ्नो चुनावी अभियानको ढाँचा पुनःसमायोजन गरिरहेको संकेत देखिएको छ।













