एमालेको झण्डा जलाएपछि देशभर राँके जुलुस, राजनीतिक तनाव उत्कर्षमा
  • प्रमुख खबर

फागुन ८, पोखरा ।।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता र समर्थकद्वारा नेकपा (एमाले)को पार्टी झण्डा जलाइएको विषयलाई लिएर देशभर एमाले निकट युवा तथा कार्यकर्ताले सशक्त प्रतिवादस्वरूप राँके जुलुस निकालेका छन्।

दाङको तुलसीपुर उपमहानगरपालिका-५, वीरेन्द्र चोकमा शुक्रबार(आज) रवि लामिछानेलाई स्वागत गर्न भेला भएको भिडका बीच रास्वपासँग सम्बन्धित व्यक्तिहरू उपस्थित रहेको कार्यक्रममा नेकपा (एमाले)को झण्डा जलाइएको थियो ।

यही घटनालाई लिएर एमाले निकट युवा संघ नेपाल र अन्य भ्रातृ संगठनको अगुवाइमा आज साँझ  एकैसाथ ७७ वटै जिल्लामा राँके जुलुस निकालिएको हो।

प्रदर्शनकारीले हातमा राँको, पार्टीको झण्डा र नारासहित सडकमा उत्रिँदै रास्वपाको उक्त गतिविधिको कडा निन्दा गरेका छन्।

उनीहरूले “झण्डा जलाउनेलाई कारबाही गर”, “राजनीतिक अराजकता बन्द गर”, “लोकतन्त्रको अपमान सहिँदैन” जस्ता नाराहरू घन्काउँदै विरोध प्रदर्शन गरेका छन् ।

यसैबीच पोखरामा समेत नेकपा (एमाले) निकट ‘लडाकु दस्ता’ भनिएको नेसनल भोलिन्टियर फोर्सले सो घटनालाई लिएर शान्तिवनस्थित पार्टी कार्यालयबाट विरोध प्रदर्शन गरेका थिए।

उक्त स्थानबाट शुरू भएको राँके जुलुस मुख्य बजार क्षेत्र परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो।

विषेशगरी यस घटनालाई लिएर एमालेका नेताहरूले पार्टीको झण्डा जलाउने कार्यलाई लोकतान्त्रिक मूल्य र राजनीतिक संस्कृतिमाथिको गम्भीर आक्रमण भन्दै तत्काल दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।

यस्तै यस्ता गतिविधि फेरिपनि दोहोरिए देशव्यापी रूपमा थप सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। देशभर एकैसाथ निकालिएको राँकोले केवल विरोध मात्र नभई राजनीतिक चेतावनीको स्पष्ट संकेत दिएको पनि एमाले कार्यकर्ताहरूको भनाइ छ।

निर्वाचनको मिति नजिकदै जाँदा आज घटेको यस घटनाले नेपालको राजनीतिक वृत्तमा नयाँ तनाव सिर्जना गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्