फागुन ९, पोखरा ।।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय, गण्डकीले तयारी तीव्र पारेको छ।
मतपत्रबाहेक ५२ प्रकारका निर्वाचन सामग्री गण्डकी प्रदेशका ११ वटै जिल्लामा पुगिसकेको कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी रुद्रनाथ न्यौपानेका अनुसार कास्की जिल्लामा शनिबार(आज) मतपत्र आइपुगेको छ भने आइतबारदेखि कास्कीबाहेक अन्य जिल्लामा पनि मतपत्र ढुवानी सुरु गरिनेछ।
उनले भने, “निर्वाचनका लागि आवश्यक ५२ प्रकारका सामग्री सबै जिल्लामा पुगिसकेको छ, अब मतपत्र ढुवानीलाई तीव्रता दिइँदैछ। यसका लागि निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तिम तयारीमा केन्द्रित छन्।”
निर्वाचनका क्रममा प्रयोग हुने ५३ प्रकारका सामग्रीमध्ये ४९ प्रकारका सामग्री मतदानस्थलमा पठाइनेछन् भने बाँकी सामग्री कार्यालय प्रयोजनका लागि राखिने जनाइएको छ। सामग्री व्यवस्थापनसँगै जनशक्ति परिचालनको काम पनि सँगसँगै अघि बढाइएको छ।
यस्तै उनका अनुसार गण्डकी प्रदेशमा यसपटक १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने भएका छन्। मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारीलाई आवश्यक तालिम दिएर मतदान केन्द्रमा पठाइने तयारी भइरहेको छ।
प्रदेशभर १ हजार २ सय ९७ मतदानस्थल र २ हजार ३ सय ९६ मतदान केन्द्र निर्धारण गरिएको छ। कुल मतदाता संख्या १८ लाख ७० हजार ६५ पुगेको छ।
त्यस्तै वि.सं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा गण्डकीमा १६ लाख ६२ हजार २ सय ४६ मतदाता थिए। यसपटक २ लाख ७ हजार ८ सय १९ नयाँ मतदाता थपिएर १८ लाख ७० हजार ६५ पुगेको छ।












