फागुन १०, पोखरा ।।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा कास्की जिल्लामा सुरक्षा संवेदनशीलतालाई लिएर तयारी तीव्र पारिएको छ।
यसै क्रममा जिल्ला प्रशासन कार्यालय कास्कीकी प्रमुख रुद्रादेवी शर्माको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरु सहितको टोलीले मतदानस्थल, सुरक्षा बेस र स्टाईकिङ्ग टोली रहने स्थानहरुको अनुगमन गरेका छन् ।

टोलीले शनिबार अन्नपूर्ण गाउँपालिकाको वडा नं. ८ वाँकोटस्थित आङवाङ आ.वि. र वडा नं. ९ तिखेढुंगास्थित भगवती माध्यमिक विद्यालय मतदानस्थलको स्थलगत अनुगमन गरेको हो।
सो टोलीले त्यहाँको भौतिक अवस्था, सुरक्षा व्यवस्थापन, सञ्चार समन्वय तथा आकस्मिक अवस्थाको तयारी सम्बन्धी आवश्यक निर्देशन समेत दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यस्तै निर्वाचनको पारदर्शिता र विश्वसनीयता सुनिश्चित गर्न मतदान केन्द्रमा खटिएका कर्मचारीहरूको विवरण सार्वजनिक पनि गरिएको छ।

यसले मतदातामा विश्वास अभिवृद्धि गर्नुका साथै निर्वाचन प्रक्रिया पारदर्शी ढंगले अघि बढिरहेको सन्देश दिएको छ।
त्यस्तै निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरी बल नेपालद्वारा जिल्लाभर मतदानस्थल केन्द्रित गस्ती समेत गरेका छन्।
जसअन्तर्गत निर्वाचन क्षेत्र सुरक्षा बेसबाट ५ वटा, स्ट्राइकिङ्ग टोलीबाट ६ वटा, मोबाइल गस्तीबाट- १७ वटा, गणबाट -५ वटा गरी जम्मा ३३ वटा गस्ती परिचालन गरिएको छ ।
यसैगरी नेपाली सेनाले समेत हिजो बिहानदेखि साँझसम्म कास्की जिल्लाका विभिन्न स्थानीय तहमा मतदानस्थल केन्द्रित गस्ती सञ्चालन गरेको छ।
जसअन्तर्गत अन्नपूर्ण गाउँपालिकामा १२ वटा, माछापुच्छ्रे गाउँपालिमा ४ वटा, पोखरा महानगरपालिमभित्र-१६ वटा, मादी गाउँपालिकामा १२ वटा र रुपाकोट गाउँपालिकाभित्र ४ वटा गरी जम्मा ४६ वटा गस्ती परिचालन गरिएको छ । सबै गरेर ७९ वटा सुरक्षा गस्ती परिचालन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन सबै सुरक्षा निकाय उच्च सतर्कताका साथ परिचालित रहेको जनाएको छ।












