फागुन १०, पोखरा ।।
साइबर सुरक्षा सम्बन्धी तिन दिने तालिम बिहीबार(आज) बाट सुरु भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना, प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा क्यान महासंघ कस्कीको प्राविधिक सहयोगमा कास्कीमा क्रियाशिल पत्रकारहरुका लागि तालिम सञ्चालन गरिएको हो ।
तालिमको शुभारम्भ गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले डिजिटल युगमा साइबर अबराध चुनौतीको रुपमा रहेकोले यसबाट बच्न हरेक व्यक्तिलाई साइबर सुरक्षाबारे जानकारी हुन पर्ने बताइन् ।

सञ्चार माध्यममा आवद्घ पत्रकारहरुलाई लक्षित गरि आयोजना गरिएको उक्त तालिमले सञ्चार जगतलाई मात्र नभएर समाज र राज्यसंयन्त्रलाई पनि साइबरजन्य अपराधबाट बच्न तथा डिजिटल सुरक्षा अपनाउन सहयोग पुग्ने बताइन् ।
यस अवसरमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले तालिमले पत्रकार स्वयंलाई डिजिटल प्रविधि मार्फत हुने ठगी र सुरक्षा चुनौतीबाट बच्न टेवा पुग्ने बताउदै तालिमको शुभकामना दिए ।
यस्तै क्यान महासंघ गण्डकी प्रदेशका अध्यक्ष गुणानिधि पाण्डेले अहिलेको युगमा साइबर सुरक्षा तालिम निकै महत्वपूर्ण भएको बताउँदै पत्रकार महासंघ कास्कीलाई तालिम आयोजना गरि आफ्नो संस्थालाई पनि जोडेकोमा खुसी व्यक्त गरे ।
साइबर सुरक्षा सम्बन्धी सहजिकरण गर्दै गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्सका उप प्राध्यापक ई.सन्तोष पन्थले स-साना आफैले अपनाउन सकिने साबधानी नअपनाउँदा धेरै व्यक्ति साइबर अपराधको सिकार हुनु परेको बताउँदै डिजिटल सिकारबाट बच्न पहिला आफै सजग हुन पर्ने बताए।
उनले इन्टरनेटका माध्यमबाट हुने ह्याकिङ, डाटा चोरी, भाइरस आक्रमण, अनाधिकृत पहुँच जस्ता जोखिमबाट बच्ने प्रक्रिया र उपायबारे जानकारी दिए।
त्यस्तै आजको तालिममा बैकिंङ सम्बन्धी डिजिटल सुरक्षाका बारेमा नबिल बैंक गण्डकी प्रदेश प्रमुख हरि ढकालले सहजिकरण गरेका थिए।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सुरु भएको तालिम तीन दिनसम्म सञ्चालन हुनेछ भने आज मात्र ७० जना पत्रकार एवम् सञ्चारकर्मीको सहभागिता रहेको थियो ।












