पोखरा महानगरपालिकाका सडक स्तरोन्नति तीव्र: प्रगति सन्तोषजनक, गुणस्तरमा जोड
  • प्रमुख खबर

फागुन ११, पोखरा ।।
वर्ल्ड बैंकको सहयोगमा पोखरा महानगरपालिकामा सञ्चालित तीन वटा ठूला सडक स्तरोन्नति परियोजनाको स्थलगत अनुगमनपछि सरोकारवाला निकायबीच प्रगति, चुनौती र समाधानका विषयमा गहन छलफल भएको छ।

उक्त अनुगमन टोलीले तालचोक-बेगनास, शिशुवा-शिसाघाट तथा दोबिल्ला-बाघमारा-तिक्लाङ-बडहरकोट-लामगाडी-चापलाङ-उपल्लो पुँडीटार-तल्लो पुँडीटार-झिगटे- तगारेगौडा-तल्लो गगनगौडा सडक खण्डहरूको निरीक्षण गर्दै निर्माणको गुणस्तर, समयसीमा र स्थानीय आवश्यकता समेटिएको अवस्थाबारे मूल्यांकन गरेको हो।

स्थलगत अनुगमनका क्रममा तालचोक–बेगनास सडक स्तरोन्नतिको अधिकांश कार्य अन्तिम चरणमा पुगेको पाइएको छ।

त्यस्तै शिशुवा-शिसाघाट सडक खण्डअन्तर्गत खुदीखोलासम्मको निर्माण कार्य सम्पन्न भइसकेको महानगरले जनाएको छ ।

यसैबीच दोबिल्ला-बाघमारा-तिक्लाङ हुँदै तल्लो गगनगौडासम्म जोडिने लामो सडक खण्डको प्रगति सन्तोषजनक रहेको अनुगमन टोलीले जनाएको छ।

अनुगमनपछि आयोजित छलफलमा निर्माण कार्यलाई थप प्रभावकारी, गुणस्तरीय र समयमै सम्पन्न गर्ने विषयमा जोड दिइएको थियो।

नगर प्रमुख धनराज आचार्यले तीनवटै परियोजनालाई यथाशीघ्र सम्पन्न गर्न महानगरले स्थानीयस्तरका समस्या समाधान, समन्वय र आवश्यक सहजीकरणमा कुनै कमी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

छलफलमा प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाका उपनिर्देशक सविन कर्माचार्य, विश्व बैङ्कका प्रतिनिधिहरू रेखा श्रीस, अमेन राज, वसन्त पौडेल, पिसिओ विनोद पन्त, पीएमएसटी, टीएल, डीएससी, परियोजनाका फोकल पर्सन इन्जिनियर नवीन गौतम, इ. नेत्र तिमिल्सीना लगायतको सहभागिता रहेको थियो।

यी परियोजनाहरू सम्पन्न भएपछि पोखराको यातायात पूर्वाधार सुदृढ भई आवागमन सहज, सुरक्षित र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

यस्तै पर्यटन, व्यापार तथा स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास महानगरले व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्