पोखराबाट काठमाडौं जाँदै गरेको बस त्रिशुलीमा खस्यो : १९ मध्ये ९ जनाको सनाखत
  • प्रमुख खबर

फागुन ११, पोखरा ।।
बेनीघाट रोराङ गाउँपालिका–५, भैंसीगौडास्थित त्रिशुली खोलामा सोमबार(आज) बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ। तीमध्ये ९ जनाको सनाखत भएको छ भने बाँकी १० जनाको पहिचान अझै खुल्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस राति करिब १:३० बजे अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल त्रिशुली नदी किनारमा खसेर दुर्घटनाग्रस्त भएको हो।

सो बसमा चालकसहित ४४ जना सवार थिए । जसमा २९ पुरुष र १५ महिला रहेका थिए। दुर्घटनामा मृत्यु भई पहिचान खुल्नेमा २४ वर्षीय बेलायती नागरिक स्टेवार्ट डोमिनिक इथान, पोखरा–३० का करिब ४० वर्षीय विवेक बास्तोला, स्याङ्जाको वालिङ घर भई हाल काठमाडौं नागार्जुन बस्ने ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँको व्यास नगरपालिका–४ का ४० वर्षीय ओम कुमार मल्ल र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ का ३० वर्षीय इन्जिनियर ठकुरी रहेका छन्।

त्यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका–७ की ५५ वर्षीया विष्णुमाया ढकाल, काठमाडौं बौद्ध टुसालका ४२ वर्षीय लोपसाङ गोले, तनहुँको भिमाद नगरपालिका–६ का ४५ वर्षीय हरिप्रसाद सिग्देल तथा पाल्पाको तानसेन नगरपालिका–२ का ५५ वर्षीय नविन श्रेष्ठको पनि सनाखत भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु भएका बाँकी १० मृतकमध्ये ७ पुरुष र ३ महिला रहेका छन्। तीमध्ये एक पुरुषको उपचारका क्रममा काठमाडौंस्थित नेशनल ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोर टोली घटनास्थल पुगेको थियो। सुरक्षाकर्मी र स्थानीयको सहकार्यमा रातारात उद्धार कार्य सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

यस्तै दुर्घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रारम्भिक उपचारका लागि मलेखुस्थित राजमार्ग सामुदायिक अस्पताल, टिचिङ अस्पताल मलेखु र जिल्ला अस्पताल धादिङबेंसीमा लगिएको थियो। गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

हाल १४ जना घाइतेको राष्ट्रिय ट्रमा सेन्टर, १० जनाको कलंकीस्थित नेशनल मेडिकल कलेज र १ जनाको मलेखुस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ।
सो घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्