फागुन १२, न्युयोर्क//
अमेरिकाको पूर्वी तटीय क्षेत्रमा सोमबार परेको भीषण हिमपातले जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बनाएको छ। दशकौँयताकै रेकर्ड तोड्ने गरी भएको यस हिमपातका कारण लाखौँ नागरिक प्रभावित भएका छन् भने हजारौँ उडानहरू रद्द हुँदा यातायात र दैनिक जीवन ठप्पजस्तै बनेको छ।
न्युयोर्कदेखि म्यासाचुसेट्ससम्मका क्षेत्रहरू बाक्लो हिउँले ढाकिँदा सडक, हवाई सेवा तथा विद्युत् आपूर्ति गम्भीर रूपमा प्रभावित भएको छ। राष्ट्रिय मौसम सेवाका अनुसार रोड आइल्याण्ड र म्यासाचुसेट्सका केही स्थानमा करिब ३३ इन्चसम्म हिउँ जमेको छ।
न्युयोर्कको सेन्ट्रल पार्कमा मात्र १९ इन्चभन्दा बढी हिमपात रेकर्ड गरिएको छ, जसलाई हालका वर्षहरूकै सबैभन्दा ठूलो हिमपातमध्ये एक मानिएको छ।
हिमपातका कारण न्यु जर्सी र म्यासाचुसेट्समा सबैभन्दा बढी प्रभाव परेको छ, जहाँ ६ लाखभन्दा बढी घर तथा व्यवसायमा विद्युत् सेवा अवरुद्ध भएको छ। सरकारी निकायहरूले अत्यावश्यक बाहेक यात्रा नगर्न चेतावनी जारी गरेका छन् र धेरै स्थानमा यात्रा गर्नै नसकिने अवस्था सिर्जना भएको जनाइएको छ।
यस पटकको हिमपातले ४८ वर्षअघिको ऐतिहासिक रेकर्डसमेत तोडेको छ। रोड आइल्याण्डको राजधानी प्रोभिडेन्समा सन् १९७८ को फेब्रुअरीमा कायम भएको २८.६ इन्च हिमपातको रेकर्डलाई उछिन्दै यसपटक झण्डै ३३ इन्च हिउँ परेको मौसमविद्हरूले बताएका छन्। उनीहरूका अनुसार यो हिमपात अपेक्षाभन्दा धेरै भयावह र अप्रत्याशित रहेको छ।
बाक्लो हिउँका कारण सयौँ सवारी साधनहरू सडकमा नै फसेका छन् भने ३०० भन्दा बढी अवरोध सिर्जना गर्ने गाडीहरूलाई प्रहरीले हटाउनुपरेको छ। सुरक्षालाई ध्यानमा राख्दै रोड आइल्याण्ड, कनेक्टिकट र म्यासाचुसेट्समा अत्यावश्यक बाहेकका सबै यात्रामा प्रतिबन्ध लगाइएको छ। म्यासाचुसेट्सकी गभर्नर माउरा हिलीले नागरिकलाई घरभित्रै सुरक्षित रहन आग्रह गर्दै कम दृश्यता र निरन्तर हिमपातका कारण उद्धार कार्यसमेत कठिन भएको बताएकी छन्। व्यस्त सहर न्युयोर्क पनि सोमबार दिउँसोसम्म झण्डै सुनसान बनेको थियो।
हवाई सेवामा झन् ठूलो असर परेको छ। फ्लाइट ट्र्याकिङ सेवा फ्लाइट अवेयरका अनुसार अमेरिकाभित्र र बाहिर हुने ५ हजार ६ सयभन्दा बढी उडानहरू रद्द भएका छन्। लागार्डिया विमानस्थल र जेएफके विमानस्थलबाट हुने ९० प्रतिशतभन्दा बढी उडान ठप्प भएका छन् भने बोस्टन र न्यु जर्सीका प्रमुख विमानस्थलहरूले पनि अधिकांश उडान कटौती गरेका छन्।
यसैबीच म्यासाचुसेट्सको केप कड क्षेत्रका करिब ८५ प्रतिशत ग्राहक विद्युत् अभावका कारण अन्धकारमा बस्न बाध्य भएका छन्। भारी हिमपातसँगै रुखका हाँगा भाँचिएर विद्युत्का तार र सडकमा खस्दा दुर्घटनाको जोखिम अझै बढेको अधिकारीहरूले जनाएका छन्।













