फागुन १२, काठमाडौं ।।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका हजारौँ उम्मेदवारमध्ये ठूलो संख्या अझैसम्म निर्वाचन प्रचारप्रसारका लागि आवश्यक बैङ्क खाता नखोलेको पाइएको छ।
निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका ३ हजार ४ सय ६ जनामध्ये हालसम्म १ हजार २ सय १३ जनाले मात्रै बैंक खाता सञ्चालनमा ल्याएका छन्।
यस्तै चुनावमा सहभागिता जनाएका ६८ राजनीतिक दलमध्ये ९ दलले मात्र खाता खोलेका छन्।
खाता खोल्ने दलहरूमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी र नेपाल जनता संरक्षण पार्टी रहेका छन्।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार निर्वाचनमा हुने आम्दानी–खर्चलाई पारदर्शी बनाउन, कानुनले तोकेको खर्च सीमा पालना गराउन र प्रभावकारी निगरानी सुनिश्चित गर्न अनिवार्य रूपमा बैंक खाता सञ्चालनको व्यवस्था गरिएको हो।
“प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता कार्यविधि, २०८२” अनुसार आयोगमा दर्ता भई समानुपातिक तथा पहिलो हुने निर्वाचित प्रणालीअन्तर्गत उम्मेदवारी दिएका सबै राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले निर्वाचन प्रयोजनका सम्पूर्ण आर्थिक कारोबार सोही खातामार्फत गर्नुपर्ने प्रावधान छ।
उक्त कार्यविधिअनुसार नै दल तथा उम्मेदवारहरूले खाता खोल्ने प्रक्रिया अघि बढाएका हुन्, यद्यपि हालसम्म सबैले अनिवार्य प्रावधान पालना गरिसकेका छैनन्।












