फागुन १४, काठमाडौं ।।
प्रतिनिधि सभा सदस्य निर्वाचन आउन मात्र ६ दिन बाँकी रहँदा निर्वाचन आयोगले सबै निर्वाचन क्षेत्रमा मतपत्र पुगिसकेको जनाएको छ ।
देशभर रहेको १ सय ६५ वटै निर्वाचन क्षेत्रमा समानुपातिक र प्रत्यक्षतर्फको मतपत्र पुगेको आयोगका मुद्रण अधिकृत बाबुराम कोईरालाले कार्यतालिकाअनुसार नै मतपत्र छपाइ र ढुवानी कार्य सम्पन्न भएको जानकारी दिएका हुन् ।
उनका अनुसार समानुपातिक निर्वाचनतर्फ दुई करोड ८ लाख ३० हजार र प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार गरी कुल ४ करोड ११ लाख ५३ हजार मतपत्र छपाई गरी ढुवानी गरिएको हो ।
आयोगले यस निर्वाचनका लागि माघ २९ गतेदेखि मतपत्र ढुवानी कार्य हवाई तथा स्थलमार्गबाट एकसाथ सुरु गरेको थियो ।
कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश हुँदै लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेश र वागमती प्रदेशमा क्रमशः मतपत्र ढुवानी गरिएको उनले बताए ।
यस्तै आयोगले १० लाख ९८ हजार दुई सय नमूना मतपत्रको छपाई गरी मतदाता शिक्षाको लागि सबै निर्वाचन क्षेत्रमा पठाएको पनि जानकारी दिएको छ ।












