फागुन १७, काठमाडौं ।।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो। पक्राउपछि प्रसाईँलाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमै राखिएको छ।
परिसरका डीएसपी प्रकाश जबेगु ले सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्।
यसअघि प्रसाईँ सर्वोच्च अदालतको आदेशपछि फागुन १३ गते रिहा भएका थिए। पछिल्लो समय निर्वाचनको सन्दर्भमा उनका गतिविधि विवादित बन्दै आएको थियो।
प्रशासनले उनलाई चुनाव बिथोल्ने सम्भावित भूमिकाको आशङ्कामा नियन्त्रणमा लिँदै आएको र अदालतको आदेशपछि रिहा हुने क्रम दोहोरिँदै आएको देखिन्छ।
प्रहरीका अनुसार यसपटक पनि सार्वजनिक शान्ति भङ्ग हुने आशङ्कासम्बन्धी कसुरअन्तर्गत अनुसन्धान अगाडि बढाइने छ। पक्राउ र अनुसन्धान प्रक्रियासम्बन्धी थप विवरण भने आउन बाँकी छ।












