फागुन १७, काठमाडौं ।।
युनाइटेड स्टेट्स र इजरायलले इरानमा आक्रमण गरेपछि चर्किएको तनावले मध्यपूर्वको आकाश नै ठप्प बनेको छ।
सुरक्षा संवेदनशीलता बढेसँगै कतार, युनाईटेड अरब इमिरेट्स, कुवेत, इराक, जोर्डन, लेबनान र बहराइनले हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेका छन्। यसको प्रत्यक्ष असर नेपाल र खाडीको उडान क्षेत्रमा देखिएको छ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी अरेबियाका दमाम र रियाध, यूएईका दुबई, शारजाह र आबुधाबीका लागि तय भएका उडानहरू रद्द भएका छन्। केही एयरलाइन्सले अर्को सूचना नभएसम्म सबै उडान स्थगित गरेको जनाएका छन्।
विषेशगरी उडान अवरुद्ध हुँदा वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान लागेका नेपाली श्रमिकहरू सबैभन्दा बढी प्रभावित भएका छन्।
टिकट समेत काटिसकेका यात्रुहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएका छन्। हिजोको जस्तै आइतबार(आज)पनि विमानस्थलमा यात्रुको बाक्लो भीड लागेको छ।
मध्यपूर्वबाहेक अन्य गन्तव्यका उडान भने सामान्य रूपमा सञ्चालन भइरहेका छन्। तर खाडी क्षेत्रतर्फको अनिश्चितताले नेपाली श्रम बजार, रेमिटेन्स र पारिवारिक यात्रामा तत्काल प्रभाव पार्ने देखिएको छ।












