प्रतिनिधिसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा,निर्वाचन सुरक्षा चुस्त पार्न गृहको निर्देशन
  • प्रमुख खबर

Oplus_131072

फागुन २०, काठमाडौं ।।
प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ ।

बिहीबार(आज) बिहान मन्त्रालयमा बसेको ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकमा निर्वाचनको सुरक्षा, व्यवस्थापनलगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको मन्त्रालयले जनाएको हो ।

गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा बसेको उक्त बैठकमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थालगायत विषयमा केन्द्रित रहेर छलफल गरिनुका साथै निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिने महत्पूर्ण काम भएको मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिएकी छन् ।

यस्तै बैठकमा अहिलेको विद्यमान अवस्था, केन्द्रले गर्नुपर्ने समन्वयलगायतका विषयमा समेत छलफल भएको उनले बताइन् ।

आज बसेको बैठकबाट शान्ति सुरक्षाको अवस्था, निर्वाचनको दिन अपनाउनुपर्ने सतर्कता र सुरक्षा संवेदनशीलताका बारेमा समीक्षा भई आगामी रणनीति बनाउने समझदारी बनेको सहप्रवक्ता आचार्यले जानकारी दिइन् ।

त्यस्तै बैठकमार्फत गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन पनि दिएका छन्।

बैठकमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सबै कर्मचारी सुरक्षा संयन्त्र र निर्वाचन सामग्री मतदानस्थलमा पुगेको जानकारी दिएका थिए ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्