उत्साहजनक सहभागितासँगै कास्कीमा शान्तिपूर्ण मतदान सम्पन्न, करिब ६० प्रतिशत मत खस्यो
  • सरिता गुरुङ

फागुन २१, पोखरा ।।
देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । छिटपुटका घटनाबाहेक यसपटक शान्तिपूर्ण रूपमा नै मतदान सम्पन्न भएको हो ।

यस्तै कास्की जिल्लामा समेत मतदाताहरुको उत्साहजनक सहभागितासँगै शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ।

प्रारम्भिक विवरणअनुसार जिल्लाभर करिब ६० प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेशका सूचना अधिकारी रुद्रनारायण न्यौपानेले जानकारी दिएका छन्।

उनका अनुसार मतदान सम्पन्न भइसकेको छ । अब मतपेटिकाहरू सम्बन्धित मतगणना स्थलमा सुरक्षित रूपमा ल्याइने कार्य भइरहेको र सर्वदलीय बैठक बसेपछि आजैबाट मतगणना सुरु गर्ने तयारी गरिएको समेत उनले बताए ।

निर्वाचन व्यवस्थापनअनुसार कास्कीका तीनवटै निर्वाचन क्षेत्रको मतगणना छुट्टाछुट्टै स्थानमा गरिनेछ। कास्की क्षेत्र नं. १ को मतगणना पोखरा–१२ स्थित वडा कार्यालयमा, कास्की क्षेत्र नं. २ को मतगणना सिचाइ जलस्रोत ड्यामसाइड र कास्की क्षेत्र नं. ३ को मतगणना कृषि मन्त्रालयको भवन मालेपाटनमा हुने तय गरिएको छ।

जिल्लामा कुल ३ लाख ८ हजार ५ सय ७२ मतदाता रहेका छन्। ती मतदाताका लागि २ अस्थायी मतदान स्थलसहित १ सय ५३ मतदान स्थल र ३ सय ६५ मतदान केन्द्र मार्फत मतदानको व्यवस्था गरिएको थियो।

यसैबीच कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जिल्लाभरको सुरक्षा व्यवस्था प्रभावकारी र व्यवस्थित रहेको जानकारी दिँदै सम्पूर्ण मतदान प्रक्रिया शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्