फागुन २२, ताप्लेजुङ।।
ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका सङ्कलन भइसकेको छ । जिल्लाको हिमाली क्षेत्र चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टर मार्फत ल्याइएसँगै एक सय २७ ओटै मतदान केन्द्रबाट मतपेटीका सङ्कलन भइसकेको हो ।
मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठका अनुसार शुक्रबार(आज) बिहान करिब तीन बजेसम्ममा चार ओटा केन्द्रका बाहेक सबै ठाउँका मतपेटिका आइसकेको थियो । उनका अनुसार जिल्लाको उच्च हिमाली बस्तीका चार स्थानका मतपेटिका पनि हेलिकप्टर मार्फत सङ्कलन गरिएको हो ।
हेलिकप्टर मार्फत फक्ताङलुङ गाउँपालिकाका–६ घुन्सा आधारभुत विद्यालय र ग्याब्ला प्राथमिक विद्यालयका मतदान केन्द्र साथै फक्ताङलुङ–७ ओलाङचुङगोला र जिल्लाको सबैभन्दा उच्च हिमाली बस्ती याङमा आधारभुत विद्यालयको मतपेटिका सङ्कलन भएको हो ।
ती चार ओटा स्थान यातायातको पहुँचदेखि टाढा रहेकोले मतपेटिका सङ्कलनमा ढिलाइ भएको हो । चार स्थानका मतपेटिका सङ्कलनको लागि हेलिकप्टर हिजो नै ताप्लेजुङ आएको थियो ।
साँझ पाँच बजेपछि हेलिकप्टर प्रस्थान गर्ने तयारी गरेपनि अकस्मात् मौसममा आएको परिवर्तनका कारण सम्भव हुन नसकेको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिए।
उनका अनुसार आज बिहान हेलिकप्टर मतपेटिका ढुवानीका लागि प्रस्थान गरी सङ्कलन गरेर ल्याइएको हो । यो सँगै अब सर्वदलीय बैठक बसेर मतगणनाको कार्य सुरु गरिने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए ।
यस्तै सल्यानमा अझै मतगणना हुन सकेको छैन । अहिले सर्वदलीय बैठक जारी रहेको र उक्त बैठक सम्पन्न भएपछि मत गणना कार्य शुरू हुने बताइएको छ ।
यसैबीच मुगुमा भने अझै मतपेटिका पुगेको छैन । स्रोतका अनुसार आज साँझसम्म सबै मतपेटिका आईपुग्ने र हिजाे रातिसम्म ४२ वटा मात्र मतपेटिका आइपुगेको पुगेकाे बताइएको छ ।












