चक्रे मिलनमाथि खुकुरी प्रहार प्रकरणका अभियुक्त मनाङे सजाए पूरा गरेसँगै जेलबाट छुटे
  • प्रमुख खबर

फागुन २७, काठमाडौं ।।
गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ कैद सजाय पूरा गरेर बुधबार(आज) डिल्लीबजार कारागारबाट छुटेका छन्। ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका मनाङेले बाँकी कैद सजाय भुक्तान गरेपछि उनी रिहा भएका हुन्।

२०६१ वैशाख ३१ मा काठमाडौंको महाराजगञ्जस्थित चुफाङ रेस्टुरेन्टमा भएको चर्चित ग्याङ फाइट घटनामा मनाङेमाथि गुण्डा नाइके चक्रे मिलन भनिने मिलन गुरुङमाथि खुकुरी प्रहार गरेको आरोप लागेको थियो।

उक्त आक्रमणमा चक्रे मिलनको बायाँ हात नै छिनालिएको थियो। सोही घटनापछि चक्रे मिलनकी श्रीमतीले मनाङेसहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएकी थिइन्। प्रहरीले मनाङे र उनका सहयोगीहरूलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो।

२०६२ वैशाख १३ मा उनी पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भएका थिए र त्यसबेला उनले दुई वर्ष कैद भुक्तान गरेर २०६३ माघ २८ मा रिहा भएका थिए। पछि जिल्ला अदालत काठमाडौंले उक्त घटनालाई सामान्य कुटपिट ठहर गर्दै मनाङेलाई दुई वर्ष कैद सजाय सुनायो। तर सरकारले उक्त फैसला चित्त नबुझेपछि उच्च अदालत पाटनमा पुनरावेदन गर्‍यो।

उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाउँदै मनाङेलाई ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनायो। उनीसँगै आरोपित अन्य चार जनालाई भने सफाइ दिएको थियो।

उच्च अदालतको फैसला सदर गर्दै सर्वोच्च अदालतले पनि मनाङेलाई पाँच वर्ष कैद सजाय कायम गरिदियो। तर फैसला कार्यान्वयनका लागि उनी लामो समयसम्म जेल नपुगी फरार सूचीमा परेका थिए।

मनाङबाट प्रदेशसभा सदस्य निर्वाचित भएपछि भने प्रहरीले उनलाई खोजी सुरु गरेको थियो। त्यसपछि मात्रै मनाङे पुनरावेदनका लागि सर्वोच्च अदालत पुगेका थिए। अन्ततः सर्वोच्च अदालतले २०८१ कात्तिक २० गते उच्च अदालत पाटनको फैसला सदर गरेपछि उनलाई कात्तिक २७ गते पक्राउ गरिएको थियो।

मनाङेले यसअघि विभिन्न चरणमा गरेर दुई वर्ष आठ महिना कैद भुक्तान गरिसकेका थिए। बाँकी एक वर्ष चार महिना कैद सजाय पूरा गरेपछि र २० प्रतिशत कैद छुट सुविधा पाएपछि उनी आज कारागारबाट मुक्त भएका हुन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्