फागुन २९, काठमाडौं ।।
नवनिर्वाचित सांसद महावीर पुनले निर्वाचन आयोगमा आफ्नो निर्वाचन खर्चको विस्तृत विवरण पेश गरेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्यादी जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित पुनले निर्वाचन अवधिभर कुल २८ लाख ६८ हजार ८ सय ६८ रुपैयाँ खर्च भएको विवरण हिजो पेश गरेका हुन्।
उनले पेश गरेको आफ्नो चुनावी खर्च विवरणमा सबैभन्दा ठूलो रकम होटलमा खाना र बसोबासमै खर्च भएको देखिएको छ । यस शीर्षकमा मात्रै उनले १३ लाख ७ हजार ६ सय १९ रुपैयाँ खर्च गरेका छन्।
यस्तै चालक ज्यालामा करिब १ लाख ४० हजार रुपैयाँ,यातायात खर्चमा ६ लाख ६० हजार ९ सय ९८ रुपैयाँ, डिजेलमा ३ लाख ६० हजार ४ सय ९९ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
आफ्नो निर्वाचन क्षेत्रमा गाउँ-गाउँ पुगेर मतदातासँग भेटघाट गर्दा बसोबास, यात्रा र इन्धन जस्ता शीर्षकमा खर्च बढी भएको देखिएको हो ।
विषेशगरी राष्ट्रिय आविष्कार केन्द्रका निर्देशकका रूपमा रहेका उनी सामाजिक अभियानका लागि चिनिने गरेतापनि चुनावी खर्चको सार्वजनिकीकरणले पनि चुनावी अभियान कति दौडधुपपूर्ण र खर्चिलो हुन्छ भन्ने प्रष्ट देखाएको छ।











