मणिपाल शिक्षण अस्पतालको टोलीद्वारा फुलबारी–नदिपुर क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न
  • सन्तोष पराजुली

फागुन २९, पोखरा।।

मणिपाल शिक्षण अस्पतालको जनरल सर्भिस एन्ड फ्यासिलिटी टिम र इलेक्ट्रिकल टिमले जुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङको सहयोगमा शुक्रबार सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन्।

 

अभियान अन्तर्गत टोलीले पोखराको फुलबारी क्षेत्र हुँदै नदिपुर र फुलबारी जोड्ने पुल वरपरका सडक, नाला तथा सार्वजनिक स्थानहरूमा सरसफाइ गरेको हो। कार्यालय बिदा नभए पनि बिहानको समय सदुपयोग गर्दै करिब २५ जनाको टोलीले उक्त अभियान सञ्चालन गरेको जनाइएको छ।

सरसफाइका क्रममा सडक छेउछाउमा थुप्रिएको फोहोर संकलन गर्नुका साथै नालामा जम्मा भएका प्लास्टिक तथा अन्य फोहोरसमेत हटाइएको थियो। यसले स्थानीय वातावरण स्वच्छ राख्न तथा सार्वजनिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको आयोजकले बताएका छन्।

जनरल सर्भिस एन्ड फ्यासिलिटी हेड सञ्जय कुमार गुप्ताले सरसफाइ केवल सरकारी निकाय वा संस्थाको मात्रै जिम्मेवारी नभई सबै नागरिकको साझा दायित्व भएको बताए। “यदि प्रत्येक टोलका मानिसहरू आफैं सक्रिय भएर सरसफाइमा जुटे भने पोखरा अझ स्वच्छ, सुन्दर र व्यवस्थित शहर बन्न सक्छ,” उनले भने।

त्यसैगरी, इलेक्ट्रिकल टिमका इलेक्ट्रिक इन्जिनियर लक्ष्मण आचार्यले ले यस्ता कार्यक्रमले समुदायमा वातावरण संरक्षणप्रति चेतना बढाउने विश्वास व्यक्त गरे। उनले आगामी दिनहरूमा पनि सरसफाइ अभियानलाई निरन्तरता दिने योजना रहेको जानकारी दिए।

आयोजकका अनुसार यस प्रकारका सामाजिक तथा वातावरणीय गतिविधिले संस्थागत सामाजिक उत्तरदायित्व लाई समेत सुदृढ बनाउने र समुदायसँगको सम्बन्ध अझ मजबुत बनाउने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्