मौसम:पहाडमा बादल र वर्षा, तराईमा तातो बढ्ने संकेत
  • प्रमुख खबर

वैशाख ५,काठमाडौँ।।

हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ, जसका कारण देशभरको मौसममा मिश्रित अवस्था कायम रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहने सम्भावना छ। मधेश प्रदेशसहित अन्य पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ। साथै, लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

यस्तै, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा दिउँसोको समयमा तापक्रम बढ्ने र तातो दिन महसुस हुने अनुमान गरिएको छ।
शनिबार रातिको पूर्वानुमानअनुसार हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने कोशी प्रदेशको पहाडी तथा तराई भू-भागसहित अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी तराई क्षेत्रमा भने मौसम प्रायः सफा रहनेछ।

राति कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्र र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्