वैशाख ६,काठमाडौँ।।।
काठमाडौंमा गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–३ बसुन्धरा निवासी ‘निरे’ भनिने निराजन पौडेललाई बालुवाटार क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार ठेक्कापट्टासम्बन्धी गतिविधिमा सक्रिय रहेका पौडेल मिलन चक्रे समूहसँग आबद्ध भई विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोप छ। उनलाई ‘सुरक्षित काठमाडौं’ अभियानअन्तर्गत पक्राउ गरिएको जनाइएको छ।
प्रहरीको सीआरएस रेकर्डअनुसार पौडेलमाथि हातहतियार तथा खरखजाना, ज्यान मार्ने उद्योग, अभद्र व्यवहारलगायत गरी कुल ६ वटा मुद्दा दर्ता रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












