शेयरको विषयमा विवाद चर्किँदा गृहमन्त्री गुरुङले भने हल्लामा होइन, प्रमाणमा विश्वास गरौँ
  • प्रमुख खबर

Oplus_131072

वैशाख ७, काठमाडौं ।।
गृहमन्त्री सुधन गुरुङले शेयर लगानीका विषयमा उठेका विवादको सन्दर्भलाई लिएर स्पष्टीकरण दिएका छन् । सोमबार(आज) सामाजिक सञ्जाल फेसबुकमार्फत उनले स्पष्टीकरण दिएको हो ।

उनले आफूमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै यस विषयमा अनुसन्धानका लागि आफूले सरकारलाई पूर्ण सहयोग गर्ने पनि बताए ।

उनले २५ करोड बराबरको शेयर लुकाएको भन्ने विषयलाई खण्डन गर्दै मन्त्रिपरिषद्को वेबसाइटमा सार्वजनिक गरिएको आफ्नो सम्पत्ति विवरणमा २ करोडभन्दा बढीको लगानी स्पष्ट उल्लेख गरिएको बताए ।

स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही विवरणभित्रै समेटिएको समेत बताए । यस्तै मन्त्री गुरुङले उक्त शेयरको कुरा लुकाउने विषय नभई वर्गीकरणको मात्र सवाल भएको पनि स्पष्ट पारेका छन्।

उनले यदि आफ्नो सम्पति विवरण लुकाउने मनसाय
भएको भए २ करोडभन्दा बढीको सम्पत्ति विवरण सार्वजनिक रूपमा नदेखाउने बताए ।

आफू गृहमन्त्री हुनुअघि नै सो शेयर खरिद गरिएको र उक्त लगानीको स्रोत २०८० भदौ २९ गते गरिएको ऋण (कर्जा) को तमसुक रहेको पनि उनले खुलाएका छन् ।

उनले सबै कारोबार बैंकिङ प्रणालीमार्फत नै भएकाले यसको प्रमाण सुरक्षित रहेको उल्लेख गरेका छन् । विवादित व्यक्तिसँग दीपक भट्टसँग साझेदारी भनिएको विषयमा टिप्पणी गर्दै उनले एउटै कम्पनीमा सयौँ शेयरधनी हुने भएकाले शेयर किन्नुलाई सबैसँगको व्यक्तिगत साझेदारी मान्न नहुने तर्क गरेका छन् ।

गृहमन्त्री गुरुङले व्यापारिक लगानी गर्दा भविष्यमा आउन सक्ने सबै उतारचढाव वा अवस्था पहिल्यै अनुमान गर्न नसकिने बताएका छन् ।

त्यस्तै  शहीदहरूको बलिदान र जेनजी आन्दोलनको मर्मप्रति आफू जिम्मेवार रहेको उल्लेख गर्दै हल्लाका पछि नलागी प्रमाणका आधारमा निर्णयमा पुग्न सबैलाई आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्