वैशाख १०, काठमाडौं ।।
गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छालाई पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि उनलाई बिहीबार(आज) केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बाट खटिएको टोलीले पक्राउ गरेको हो।
सीआईबीका अनुसार धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनको आधारमा गोल्छाको पनि मिलेमतोमा धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसुरमा उनलाई पक्राउ गरिएको हो ।
उनी नेपालका चर्चित उद्योगपति र व्यवसायी नेता समेत हुन्। हिमालयन रिइन्स्याेरेन्स कम्पनीकाे शेयरमा इन्साइडर ट्रेडिङ गरेकाे विषयमा नेपाल धिताेपत्र बाेर्ड (सेबाेन)ले आवश्यक अनुसन्धानका लागि सिफारिस गरेसँगै उनी पक्राउ परेका हुन् ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धान सिलसिलामा हिरासतमा रहेका विवादित व्यवसायी दीपक भट्टको व्यावसायिक कारोबारमा उनकाे संलग्नता देखिएकाे थियाे।











