दशरथ रंगशालामा सुकुम्बासीको भीड: १ हजारभन्दा बढी परिवारले दर्ता गराए
  • प्रमुख खबर

वैशाख १५, काठमाडौँ।।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मा मंगलबार मध्याह्नसम्म १ हजारभन्दा बढी परिवारले आफूलाई सुकुम्बासीका रूपमा दर्ता गराएका छन्।

सरकारले थापाथली, गैरीगाउँ, सिनामंगल र मनोहरा लगायतका क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाएपछि विस्थापित भएका परिवारहरू अहिले धमाधम सम्पर्कमा आउन थालेका हुन्।

अहिलेसम्म १,०७८ परिवारले आफ्नो नाम दर्ता गराइसकेका छन्। विवरण संकलनमा संलग्न एक अधिकारीका अनुसार औसत चार सदस्यीय परिवारका आधारमा ४ हजारभन्दा बढी व्यक्तिको विवरण संकलन भइसकेको छ, जसमा १,५०० भन्दा बढी बालबालिका छन्।
आफ्नै बसोबास र खानपानको व्यवस्था गर्न नसक्ने परिवारका लागि सरकारले रंगशालामा हेल्प डेस्क स्थापना गरेको छ। त्यहाँ विवरण संकलन गरेपछि उनीहरूलाई विभिन्न पाँचवटा ‘होल्डिङ सेन्टर’ मा राख्ने व्यवस्था मिलाइएको छ।

बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरण ले रंगशालाको पश्चिमी भागमा छुट्टाछुट्टै डेस्क राखेर फारम भर्ने काम गरिरहेका छन्। साथै, स्वास्थ्य परीक्षण र खानपानको व्यवस्था पनि त्यहीँ गरिएको छ, जसको समन्वय काठमाडौं महानगरपालिका ले गरिरहेको छ।

थापाथली बाट विस्थापित अधिकांश परिवार रंगशालामा आइसकेका छन् भने सिनामंगल, गैरीगाउँ र शान्तिनगर क्षेत्रबाट आउने क्रम अझै जारी छ। आइतबारदेखि यी क्षेत्रबाट आउनेको संख्या उल्लेखनीय रूपमा बढेको छ।

दर्ता प्रक्रिया पूरा गरेपछि उनीहरूलाई कीर्तिपुर स्थित होल्डिङ सेन्टर तथा माछापोखरी र नयाँ बसपार्क आसपासका होटल तथा लजहरूमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्