जेठ १३ देखि १८ गतेसम्म २६औँ विश्व दुग्ध दिवस सप्ताह मनाइने
  • प्रमुख खबर

जेठ १२, पोखरा ।।
२६औँ विश्व दुग्ध दिवसलाई यस वर्ष पनि नेपालमा विशेष उत्सवका रूपमा मनाइने भएको छ। संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठन(एफओए)को आह्वानमा सन् २००१ मा यो दिवस स्थापना गरी औपचारिक रूपमा मनाउन शुरु गरिएको हो ।

यस वर्षको अन्तराष्ट्रिय नारा “महिला कृषकहरुको सम्मान” छ भने राष्ट्रिय नारा “दुग्ध क्षेत्रको दिगो विकास”:पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार तय गरिएको छ ।

विगत दुई दशकभन्दा बढी समयदेखि सरकारी, निजी तथा सहकारी क्षेत्रको संयुक्त सहभागितामा विश्व दुग्ध दिवस मनाउँदै आएको एशोसिएसनले जेठ १३ देखि १८ गतेसम्म सातै प्रदेश र जिल्लास्तरमा विविध कार्यक्रम सञ्चालन गर्न लागेको मंगलबार(आज) पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ।

यस सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जेठ १३ गते काठमाडौंमा राष्ट्रियस्तरीय ‘कविता प्रतियोगिता–२०८३’ आयोजना हुनेछ। जेठ १४ गते काभ्रेमा उपभोक्ता सचेतना तथा पोषण प्रवर्द्धन कार्यक्रम, जेठ १५ गते देशव्यापी रूपमा दुग्ध क्षेत्रको प्रचारप्रसार तथा प्रवर्द्धनात्मक गतिविधि गरिने एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिएका छन्।

यस्तै उनका अनुसार जेठ १५ देखि १७ गतेसम्म सातै प्रदेशका प्रदेश तथा जिल्ला समितिद्वारा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। यस कार्यक्रमको अन्तिम दिन जेठ १८ गते ललितपुरमा राष्ट्रिय दुग्ध विकास वोर्डद्वारा ‘विश्व दुग्ध दिवस–२०८३ वृहत् कार्यक्रम’ गरिने समेत अध्यक्ष दाहालले बताए ।

नेपालको दुग्ध क्षेत्र कृषि अर्थतन्त्रको एक महत्वपूर्ण आधारस्तम्भ हो । देशभर दैनिक करिब ७६ लाख लिटर दूध उत्पादन हुने गरेको छ। तर उत्पादित दूधमध्ये करिब ३१ लाख लिटर मात्र औपचारिक तथा अनौपचारिक रूपमा बजारमा प्रवेश गर्ने गरेको छ। बाँकी दूध बजार प्रणालीसम्म पुग्न नसक्नु अझै चुनौतीकै रूपमा रहेको छ ।

बजारमा पुग्ने दूधमध्ये करिब १७ प्रतिशत औपचारिक रूपमा प्याकेजिङ तथा लेबलिङसहित बिक्री हुने गरेको छ भने ३३ प्रतिशत खुला बजारमार्फत अनौपचारिक बिक्री हुने गरेको छ।

दुग्ध क्षेत्रबाट दैनिक करिब २० करोड १५ लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने गरेको छ। यसमध्ये ६ करोड रुपैयाँभन्दा बढी रकम शहरबाट गाउँतर्फ नै दैनिक प्रवाह हुने गर्छ ।

हाल निजी डेरी क्षेत्रमा मात्रै करिब ५० अर्ब रुपैयाँ लगानी भइसकेको छ। यस क्षेत्रमा ६ लाखभन्दा बढी कृषक परिवार आश्रित छन् भने निजी क्षेत्रबाट मात्रै करिब ५० हजार जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। त्यस्तै देशभर करिब ६ हजार डेरी उद्योग सञ्चालनमा रहेको तथ्याङ्क छ।

तपाईको प्रतिक्रिया दिनुहोस्