जेठ १८, पोखरा ।।
आज २६औँ विश्व दूध दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघअन्तर्गतको खाद्य तथा कृषि संगठन(एफओए)को आह्वानमा सन् २००१ मा यो दिवस स्थापना गरी औपचारिक रूपमा मनाउन शुरु गरिएको हो ।
यस वर्षको अन्तराष्ट्रिय नारा “महिला कृषकहरुको सम्मान” छ भने राष्ट्रिय नारा “दुग्ध क्षेत्रको दिगो विकास”:पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार तय गरिएको छ ।
विषेशगरी दैनिक गुणस्तरीय दूध पिउन चेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार–प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न चेतना जगाउने र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्ने उद्देश्य सहित यो दिवस मनाउने गरिन्छ ।
यस अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी संघ लगायतका सरोकारवाला निकायले आज विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
नेपालको दुग्ध क्षेत्र कृषि अर्थतन्त्रको एक महत्वपूर्ण आधारस्तम्भको रूपमा रहेको छ । देशभर दैनिक करिब ७६ लाख लिटर दूध उत्पादन हुने गरेको छ। तर उत्पादित दूधमध्ये करिब ३१ लाख लिटर मात्र औपचारिक तथा अनौपचारिक रूपमा बजारमा प्रवेश गर्ने गरेको छ। बाँकी दूध बजार प्रणालीसम्म पुग्न नसक्नु अझै चुनौतीकै रूपमा रहेको छ ।
बजारमा पुग्ने दूधमध्ये करिब १७ प्रतिशत औपचारिक रूपमा प्याकेजिङ तथा लेबलिङसहित बिक्री हुने गरेको छ भने ३३ प्रतिशत खुला बजारमार्फत अनौपचारिक बिक्री हुने गरेको छ।
दुग्ध क्षेत्रबाट दैनिक करिब २० करोड १५ लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने गरेको छ। यसमध्ये ६ करोड रुपैयाँभन्दा बढी रकम शहरबाट गाउँतर्फ नै दैनिक प्रवाह हुने गर्छ ।
हाल निजी डेरी क्षेत्रमा मात्रै करिब ५० अर्ब रुपैयाँ लगानी भइसकेको छ। यस क्षेत्रमा ६ लाखभन्दा बढी कृषक परिवार आश्रित छन् भने निजी क्षेत्रबाट मात्रै करिब ५० हजार जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। त्यस्तै देशभर करिब ६ हजार डेरी उद्योग सञ्चालनमा रहेको तथ्याङ्क छ।










