पोखरा बसपार्कका सुकुमबासी व्यवस्थापनका लागि ६ स्थान प्रस्ताव, ६ सय परिवार स्थानान्तरणको तयारी
  • प्रमुख खबर

जेठ २२,पोखरा।।

पोखरा महानगरपालिकाले बसपार्क तथा फिर्के करिडोर क्षेत्रमा बसोबास गर्दै आएका सुकुमबासीहरूको व्यवस्थापनका लागि ६ वटा स्थानको जग्गा सिफारिस प्राप्त गरेको छ। जग्गा खोजी समितिले बिहीबार महानगर प्रमुख धनराज आचार्यलाई विस्तृत प्रतिवेदन बुझाउँदै विभिन्न वडामा रहेका उपयुक्त जग्गाहरू प्रस्ताव गरेको हो।

समितिले पोखरा महानगरपालिका–११ रामघाटस्थित पुन समाजले प्रयोग गर्दै आएको करिब ४६ रोपनी पर्ति जग्गालाई पहिलो प्राथमिकतामा राखेको छ। उक्त क्षेत्र सेती नदीको ३० मिटर मापदण्डभित्र नपर्ने, साथै पानी, बिजुली र सडकजस्ता पूर्वाधार उपलब्ध भएकाले सुकुमबासी स्थानान्तरणका लागि उपयुक्त ठहर गरिएको छ।
त्यसैगरी, वडा नम्बर १४ अन्तर्गत बाच्छेबुडुवा खेलमैदान र भेडी फार्म क्षेत्रको २४८ रोपनी जग्गा पनि उपयुक्त देखिएको छ। यहाँ पर्याप्त खाली जमिन र आवश्यक पूर्वाधार भएकाले बसपार्कसहित फिर्के करिडोरका परिवारहरूलाई समेत स्थानान्तरण गर्न सकिने उल्लेख गरिएको छ।

वडा नम्बर १५ को मजुवास्थित ९९ रोपनी जग्गा पनि अर्को विकल्पका रूपमा अघि सारिएको छ। यसमध्ये केही हिस्सा प्रदेश प्रहरीको स्वामित्वमा रहेकाले पुनःरेखांकन आवश्यक रहेको समितिले जनाएको छ।

वडा नम्बर १७ को प्रगति टोलमा रहेको २३ रोपनी जग्गामा हाल केही सुकुमबासी बसोबास गरिरहेका छन् भने बाँकी खाली जमिनमा थप व्यवस्थापन गर्न सकिने सम्भावना औंल्याइएको छ।

त्यसैगरी, वडा नम्बर २१ दोबिल्लामा करिब ४३० रोपनी र वडा नम्बर २५ हेमजामा करिब ८९३ रोपनी जग्गा सुकुमबासी व्यवस्थापनका लागि उपयुक्त देखिएको समितिको निष्कर्ष छ। हेमजाको क्षेत्रमा बगर जमिन भए पनि हाल खेती भइरहेको उल्लेख गरिएको छ।

महानगरपालिकाले वर्षौंदेखि सार्वजनिक तथा सरकारी पर्ती जग्गामा बसोबास गर्दै आएका सुकुमबासी, अव्यवस्थित बसोबासी तथा भूमिहीन नागरिकहरूको दीर्घकालीन समाधानका लागि यो पहल गरेको हो। प्रारम्भिक चरणमा बसपार्क र फिर्के करिडोर क्षेत्रका करिब ६ सय परिवारलाई स्थानान्तरण गर्ने लक्ष्य राखिएको छ।

यसका लागि १० दिनअघि वडा नम्बर १७ का अध्यक्ष राधिका शाही योगीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको थियो। समितिमा वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानी, वडा १५ का अध्यक्ष तोरणबहादुर बानियाँ, वडा १४ का अध्यक्ष बोधराज कार्की, वडा २५ का कार्यवाहक अध्यक्ष धना पोख्रेल, नापी शाखा पोखराका प्रमुख सीता कार्की तथा प्रशासन महाशाखाका अधिकृत टीकाराम बजगाईं सदस्य सचिवका रूपमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्