अषाढ १७, पोखरा ।।
जिल्ला समन्वय समिति (जिसस) कास्कीले गण्डकी प्रदेश सरकारअन्तर्गत कास्कीमा सञ्चालित दुई महत्त्वपूर्ण सडक आयोजनाको स्थलगत अनुगमन गरेको छ।
जिसस प्रमुख लिलाधर पौडेलको नेतृत्वमा सम्पन्न अनुगमनमा आयोजनाको प्रगति, निर्माण गुणस्तर तथा तोकिएको मापदण्डको पालनाबारे समीक्षा गरिएको हो।
अनुगमन टोलीले पोखरा–३३ स्थित तल्लो खैरेनी–घोक्रेनी–शिवबस्ती हुँदै गाईगौंडासम्म निर्माणाधीन करिब ५ करोड रुपैयाँ लागतको बहुवर्षीय सडक आयोजना तथा पोखरा–३१ मा निर्माणाधीन २५ करोड रुपैयाँ लागतको सात ताल जोड्ने स्याङ्खुदी भञ्ज्याङ लिंक रोडको स्थलगत निरीक्षण गरेको थियो।
अनुगमनमा जिसस सदस्य सीता देवी विक, हर्क गुरुङ, राजु अधिकारी, जिल्ला समन्वय अधिकारी नवराज बराल, शाखा अधिकृत लक्षु शर्मा, गण्डकी प्रदेश पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख कृष्ण आचार्य, प्राविधिक इन्जिनियर तथा स्थानीय जनप्रतिनिधिको सहभागिता रहेको थियो।
अनुगमनका क्रममा जिसस प्रमुख पौडेलले निर्माण कार्यमा गुणस्तर र निर्धारित मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिँदै दिगो विकासलाई केन्द्रमा राखेर काम गर्न आग्रह गरे।
उनले विकास निर्माणमा हुने अनियमितताप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने स्पष्ट पार्दै स्थानीय उपभोक्ता र सरोकारवालालाई पनि निगरानी र सचेत भूमिकामा रहन आग्रह गरे।
निर्माणको प्रगति अपेक्षाअनुसार नभएको तथा केही स्थानमा गुणस्तरमा कमजोरी देखिएको उल्लेख गर्दै प्रमुख पौडेलले निर्माण व्यवसायीलाई तोकिएको समयभित्र गुणस्तरीय रूपमा काम सम्पन्न गर्न निर्देशन दिएका छन्।









