११ जिल्लामा बर्डफ्लुबाट ७० करोडको क्षति, प्रभावित किसानले ७५ प्रतिशतसम्म क्षतिपूर्ति पाउने
  • प्रमुख खबर

अषाढ १९, काठमाडौं ।।
कृषि, वन तथा वातावरण मन्त्रालयले पशुसेवा विभागलाई ५० करोड रूपैयाँ निकासा गरेको छ । सो रकम विषेशगरी बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरिएको हो ।

मन्त्रालयले बर्डफ्लु पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि उक्त रकम विभागलाई उपलब्ध गराएको जनाएको छ ।

ती ११ जिल्लाहरूमा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी रहेका छन्।

मन्त्रालयबाट प्राप्त सो रकमलाई पीडित किसानले बर्डफ्लूका कारण बेहोर्नु परेको क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराइने विभागका प्रवक्ता डा मुकुल उपाध्यायले बताएका छन् ।

उनका अनुसार ११ जिल्लामा करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलो दाना नष्ट गरिएको थियो । यसबाट ७० करोड रूपैयाँ बराबरको क्षति भएको थियो ।

बर्डफ्लु रोग नियन्त्रण (चौथो संशोधन) २०७४ अनुसार प्रमाणित क्षतिको विवरणका आधारमा नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामग्रीको मूल्याङ्कन गरी सम्बन्धित धनीलाई क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ ।

गएकाे  चैतदेखि देशको पूर्वी क्षेत्रबाट फैलिन सुरु भएको बर्डफ्लु सङ्क्रमण हाल ११ जिल्लामा देखिएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्