असार २४, पोखरा ।।
अर्जेन्टिनाले इजिप्टविरुद्ध अन्तिम १६ को खेलमा शानदार ‘कमब्याक’ जित हात पारेको छ।
७८ मिनेटसम्म २–० ले पछाडि परेको अवस्थाबाट पुनरागमन गरेको अर्जेन्टिनाले ३–२ को जित हात पारेको हो।
यसअघि १५ औँ मिनेटमै यासिर इब्राहिमले इजिप्टलाई १–० को अग्रता दिलाएका थिए। ६७औँ मिनेटमा मोस्ताफा जिकोले अर्को गोल थपेपछि अर्जेन्टिना दवावमा परेको थियो ।
तर खेलको ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोको गोलसँगै अर्जेन्टिना खेलमा फर्कियो। २–१ ले पछि परिरहँदा मेसीले ८३औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । बराबरीले हौसिएको अर्जेन्टिनाका लागि खेलको ९३औँ मिनेटमा इन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे।
योसँगै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको छ। यो खेलमा मेसीले पेनाल्टीमा गोल भने गर्न सकेका थिएनन्। ९० मिनेटपछि थप ७ मिनेट अतिरिक्त दिइएको थियो।









