असार २७,काठमाडौं।।
साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको दर्शन तथा पूजाआराधनाका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु गरिएको छ।
साउन महिना तथा सोमबारलाई भगवान् आशुतोष शिवको विशेष महिना र बारका रूपमा मानिने भएकाले प्रत्येक सोमबार लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि पुग्ने गर्दछन्। यही चापलाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले व्यवस्थित सेवा प्रदान गर्ने उद्देश्यले शनिबारदेखि अभियान सञ्चालनमा ल्याएको हो।
कोषकी कार्यवाहक सदस्य सचिव तथा कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठका अनुसार अभियानको पहिलो दिन पशुपतिनाथ मूल मन्दिर क्षेत्रदेखि सूर्यघाटसम्म व्यापक सफाइ गरिएको छ। उनले आइतबार अपराह्नपछि पनि अभियानलाई निरन्तरता दिइने जानकारी दिइन्
आइतबार मन्दिर बन्द भएपछि सूक्ष्म रूपमा सरसफाइ गरिने र त्यसमा सुरक्षा निकायको समेत सहभागिता रहने उनले बताइन्। पहिलो दिनको सफाइ अभियानमा दर्जनौँ सङ्घसंस्थाहरूको सक्रिय सहभागिता रहेको थियो।
कोषले यो अभियानलाई प्रत्येक हप्ताको शनिबार नियमित रूपमा सञ्चालन गर्ने तयारी गरेको छ भने साउन महिनाभर आवश्यकताअनुसार आइतबार र अन्य दिनमा पनि विशेष सफाइ कार्यक्रम सञ्चालन गरिने जनाएको छ।









