असार २७,काठमाडौं।।
काठमाडौं महानगरपालिका–१० बुद्धनगरका ४५ वर्षीय व्यवसायी आश्विन राउतको आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएको छ। शनिबार बिहान आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका राउतको वीर अस्पतालमा उपचार भइरहेको अवस्थामा अपराह्न मृत्यु भएको हो।
उपचारमा संलग्न चिकित्सक डा. पीयूष दाहालका अनुसार अस्पताल ल्याउँदा नै राउतको अवस्था अत्यन्त चिन्ताजनक थियो। “अस्पताल ल्याउँदा धेरै कम्प्लिकेसन देखिइसकेको थियो,” उनले बताए। उनका अनुसार राउतको शरीरको ६० प्रतिशतभन्दा बढी भाग जलेको थियो र उनी बेहोस अवस्थामै अस्पताल ल्याइएका थिए।
डा. दाहालका अनुसार सुरुमा सीपीआर (CPR) दिएपछि केही समयका लागि मुटुको चाल फर्किए पनि दोस्रो पटक मुटुको चाल रोकिँदा प्रयास सफल हुन सकेन।
प्रहरीका अनुसार पारिवारिक विवादका कारण राउतले आत्मदाहको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। घटनापछि प्रहरीले उनलाई उद्धार गरी तत्काल वीर अस्पताल पुर्याएको थियो।
पछिल्लो तीन दिनभित्र देशका विभिन्न स्थानमा यस्तै प्रकृतिका तीन घटना भएका छन्।
बिहीबार मुगुका गणेश नेपालीले नगर प्रहरीसँग विवादपछि आत्मदाह प्रयास गरेका थिए, जसको शुक्रबार उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो। त्यसैगरी शुक्रबार सर्लाहीका ३५ वर्षीय विवेक मण्डलले पनि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते मण्डललाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याई उपचार भइरहेको छ र उनको अवस्था अझै गम्भीर रहेको बताइएको छ।









