साउन ४, काठमाडौं ।।
संसदीय सुनुवाइ समितिको बैठक भोलि मंगलबारका लागि आह्वान गरिएको छ । बैठक भोलि बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो ।
विषेशगरी यो बैठक प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइका लागि बस्न लागिएको समितिका सचिवसमेत रहेका राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले बताएका छन्।
समितिको सचिवालयले प्रस्तावित नामहरू उपर १० दिनको समय राखेर उजुरी दिन आह्वान गरिएको थियो । उजुरीका लागि उक्त समय आइतबार सकिएको थियो । तर आइतबार बिदा परेकाले उजुरी आज सोमबार साँझ ५ बजेभित्र लिइने र त्यसपछि खोलिने सचिव कँडेलले जानकारी दिए ।
संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले सर्वोच्च अदालतका रजिस्ट्रार समेत रहेका मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो ।
सोही बैठकले नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक डा.राजीव सुब्बा र गुरु वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले तीनै जना विरुद्ध असार २६ गते उजुरी आह्वान गरेको थियो ।









