साउन ७, पोखरा ।।
नेपाल कम्युनिस्ट आन्दोलनका संस्थापक नेता तथा पार्टीका महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
यस अवसरमा विषेशगरी नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी(नेकपा) लगायत विभिन्न कम्युनिस्ट दल तथा जनवर्गीय सङ्गठनहरूले श्रद्धाञ्जली सभा, विचार गोष्ठी, पुष्पाञ्जली अर्पण तथा वैचारिक अन्तरक्रियालगायतका कार्यक्रम आयोजना गरेका छन्।
उनै पुष्पलालको स्मृतिमा नेपाली कम्युनिष्ट पार्टि कास्कीले समेत पोखरा -७, बुलौदीस्थित पुष्पलाल पार्कमा आज विशेष कार्यक्रमको आयोजना गरेको छ । यसका साथै उनको स्मृतिमा पोखरासहित देशभरका विभिन्न जिल्लामा उनको योगदानको स्मरण गर्दै उनको राजनीतिक विचार र भूमिकामाथि छलफल भइरहेको छ।
वि.सं. १९८१ असार १५ गते रामेछापमा जन्मिएका पुष्पलाल नेपालमा संगठित कम्युनिस्ट आन्दोलनका प्रमुख अभियन्ताका रूपमा परिचित छन्। पिता भक्तलाल श्रेष्ठ र माता तुलसीकुमारीका माहिला सन्तानका रूपमा जन्मिएका उनी प्रजातान्त्रिक आन्दोलनका सहिद गङ्गालाल श्रेष्ठका भाइ पनि हुन् ।
राजनीतिक गतिविधिका क्रममा लामो समय प्रवासमा रहेर पनि उनले नेपाली कम्युनिस्ट आन्दोलनलाई वैचारिक तथा सांगठनिक रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
उनले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित कम्युनिस्ट मेनिफेस्टो पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए। यससँगै उनले विभिन्न पुस्तक, लेख तथा वैचारिक दस्तावेजमार्फत नेपाली समाजको वर्गीय विश्लेषण प्रस्तुत गर्दै कम्युनिस्ट आन्दोलनलाई स्पष्ट वैचारिक दिशा दिएका थिए।
वि.सं. २००६ बैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्ने नेतृत्वदायी भूमिकामा उनी रहेका थिए । त्यसअघि वि.सं. १९९८ मा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गरेर राणाशासनविरुद्धको आन्दोलनमा समेत सक्रिय भूमिका स्वर्गीय पुष्पलालले खेलका थिए ।
यस्तै उनले नेपालको राजनीतिक परिवर्तनका लागि लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा अघि सार्दै नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक दलसँग संयुक्त आन्दोलनमार्फत पञ्चायती व्यवस्थाको अन्त्य गर्नुपर्ने अवधारणा प्रस्तुत समेत गरेका थिए। वि.सं. २०३५ साउन ७ गते भारतको नयाँ दिल्लीमा उपचारका क्रममा उनको निधन भएको थियो।









