भदौ २३, काठमाडौं ।।
इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन खुलेको छ । इजरायलले एक हजार १३२ जना महिला र ३३२ जना पुरुष गरी कुल १४६४ जना कामदार माग गरेको वैदेशिक रोजगार विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
आवेदन दिन २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुकले भदौ २३ गते राति १२ बजेदेखि असोज २६ गते राति ११ बजेर ५९ मिनेटसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
विभागले आवेदनको लागी वैदेशिक रोजगार विभागको वेबसाइटअन्तर्गत ferms.dofe.go.np मार्फत आवेदन दिन सकिने जनाएको छ। इजरायल सरकारले छनोट भएका कामदारका लागि मासिक ६ हजार ४४३.८५ इजरायली मुद्रा तलब पाउनेछन्।
इजरायली सरकारको नियमानुसार ओभरटाइम सुविधासमेत उपलब्ध हुने जारी सूचनामा उल्लेख गरिएको छ। छनोट भएका कामदारले सातामा ४२ घण्टा अनिवार्य काम गर्नुपर्नेछ भने हप्तामा एक दिन मात्र बिदा पाउनेछन्।
वार्षिक बिदा भने इजरायली सरकारको कानुनअनुसार हुने बताइएको छ। कामदारका लागि खानाको व्यवस्था नहुने भएपनि बस्ने व्यवस्था कम्पनीले गर्नेछ। तर बसोबासको खर्च भने कामदार स्वयंले व्यहोर्नुपर्नेछ।








