दशकौँको प्रतीक्षा अन्त्य, नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सर्वसाधारणका लागि खुला
  • प्रमुख खबर

साउन ११, काठमाडौं ।।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साललेे नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको औपचारिक रूपमा उद्घाटन गरेका छन्। मन्त्री लम्सालले उक्त सुरुङमार्गको सोमबार(आज) उद्घाटन गरेका हुन् । सो सुरुङमार्ग उद्घाटन कार्यक्रममा जापान अन्तरराष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष तानाका अकिहिको र नेपालका लागि जापानी राजदूत माएदा तोरुको समेत उपस्थिति थियो ।

यस अवसरमा जाइकाका अध्यक्ष तानाकाले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गलाई नेपालको यातायात विकास यात्राको ऐतिहासिक तथा रूपान्तरणकारी उपलब्धि भएको प्रतिक्रिया दिए। उनले यो परियोजना केवल पूर्वाधार निर्माणमा सीमित नरही नेपाल–जापान सहकार्यको नयाँ अध्यायको सुरुआत भएको उल्लेख गर्दै यसको सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी क्षमता अभिवृद्धिका लागि नेपाल र जापानबीच नयाँ प्राविधिक सहयोग परियोजना सुरु गरिएको समेत जानकारी दिए ।

यसै वर्ष नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको उल्लेख गर्दै अध्यक्ष तानाकाले विगत सात दशकदेखि पारस्परिक विश्वास, सम्मान र सहकार्यमा आधारित सम्बन्ध अझ सुदृढ बन्दै गएको बताए । यस्तै नेपालका लागि जापानी राजदूत माएदा तोरुले जापान सरकारको आधिकारिक विकास सहायता तथा नेपाली प्राविधिक र श्रमिकहरूको अथक परिश्रमबाट सुरुङ निर्माण सम्पन्न भएको बताए । उनले यस परियोजनाले नेपाल र जापान सरकारबीचको विश्वासपूर्ण तथा दीर्घकालीन साझेदारीलाई थप मजबुत बनाएको उल्लेख गरे ।

त्यस्तै पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुङ्गा नाका दशकौँदेखि काठमाडौं उपत्यकाको पश्चिमी प्रवेशद्वार भए पनि अत्यधिक सवारी चाप र जोखिमपूर्ण सडकखण्डका रूपमा परिचित रहेको उल्लेख गरे । सुरुङ सञ्चालनसँगै यात्राको समय उल्लेखनीय रूपमा घट्ने तथा वर्षौंदेखिको ट्राफिक जाम र जोखिमपूर्ण यात्राको समस्या न्यूनीकरण हुने उनको भनाइ छ। नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ मिटर रहेको छ । सुरुआती सम्झौताअनुसार आयोजना विसं २०८० वैशाख १३ गतेभित्र सम्पन्न हुनुपर्ने भनिएपनि ठेकेदार कम्पनीको ढिलाइ, कोभिड–१९ महामारी तथा स्थानीयको अवरोधका कारण निर्माण प्रभावित भएको थियो । विसं २०७६ कात्तिक २८ गते ठेक्का सम्झौता भएको उक्त आयोजनाको निर्माण अवधि पछिल्लोपटक २०८२ कात्तिक ८ गतेसम्म थप गरिएको थियो ।

यसअघि सरकारले विसं २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि दस्तुर निर्धारण गरेको थियो । राजपत्रअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनका लागि काठमाडौं प्रवेश गर्दा रु ६५ र काठमाडौंबाट बाहिरिँदा रु ६० दस्तुर तोकिएको छ । मिनीबस तथा मिनी ट्रकका लागि क्रमशः रु १२५ र रु ८०, बस तथा सिङ्गल रियर एक्सल ट्रकका लागि रु २६० र रु २०० तथा मल्टिएक्सल ट्रक तथा भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा रु ६०० र बाहिरिँदा रु २५० दस्तुर निर्धारण गरिएको छ । नेपालको पहिलो सडक सुरुङका रूपमा सञ्चालनमा आएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गले विषेशगरी काठमाडौं–नौबिसे सडकखण्डमा यात्रा समय घटाउनुका साथै सुरक्षित, सहज र दिगो सडक यातायात व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्