साउन १४,सुर्खेत।।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘पाथीभरामाता’को नाममा परिचित समीर थापालाई पक्राउ गरेको छ। उनलाई वीरेन्द्रनगर नगरपालिका–३, एरिचोकस्थित आफ्नै घरबाट नियन्त्रणमा लिइएको हो।
प्रहरी निरीक्षक दीपक मगराठीको नेतृत्वमा खटिएको टोलीले थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।
प्रहरीका अनुसार थापाले धर्मको नाममा झारफुक तथा हेराई–मनाई गर्ने बहानामा एक महिलामाथि दुर्व्यवहार गरेको आरोप लागेको छ। उक्त घटना सम्बन्धी फोटो तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका बेला स्थानीय बासिन्दाले प्रहरीलाई टेलिफोनमार्फत जानकारी गराएका थिए।
सूचना प्राप्त भएपछि तत्कालै प्रहरी टोली परिचालन गरी थापालाई पक्राउ गरिएको हो। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








