साउन १६, काठमाडौं ।।
पाकिस्तानको ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परेर बेपत्ता भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन भएको पुष्टि भएको छ।
निर्मल पुर्जाले स्थापना गरेको एलिट एक्सपिड (Elite Exped) ले शनिबार आधिकारिक वक्तव्य जारी गर्दै ब्रड पिकमा गएको हिमपहिरोपछि पुर्जाले ज्यान गुमाएको पुष्टि गरेको हो। कम्पनीले अन्य केही सदस्यहरूको पनि दुर्घटनामा मृत्यु भएको जनाएको छ।
एलिट एक्सपिडका अनुसार यस दुर्घटनामा निर्मल पुर्जाका विश्वस्त आरोहण सहयात्री तथा गाइड पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पाको पनि निधन भएको छ। कम्पनीले दुर्घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
वक्तव्यमा भनिएको छ, “आज हामी अत्यन्त दुःख र भारी मनका साथ निर्मल ‘निम्सदाइ’ पुर्जाको ब्रड पिक हिमपहिरोमा निधन भएको पुष्टि गर्दछौं। यस दुर्घटनामा अभियानका अन्य सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको छ।”
एलिट एक्सपिडले निर्मल पुर्जालाई आधुनिक पर्वतारोहणका महान् आरोहीमध्ये एकका रूपमा स्मरण गर्दै उनको साहस, नेतृत्व, विनम्रता र असम्भवलाई सम्भव बनाउने सोचले विश्वभर लाखौं मानिसलाई प्रेरित गरेको उल्लेख गरेको छ।
कम्पनीले निर्मल पुर्जाले स्थापना गरेका एलिट एक्सपिड, निम्सदाइ फाउन्डेसन, स्काइडाइभ निम्सदाइ र निम्सदाइ स्टोरमार्फत उनको दृष्टि र विरासत जीवित रहने विश्वास व्यक्त गरेको छ।
सन् २०१९ मा विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका निर्मल पुर्जा आधुनिक पर्वतारोहणका सबैभन्दा प्रभावशाली आरोहीमध्ये एक मानिन्थे। उनले आफ्नो साहस, मानवीय उद्धार अभियान र प्रेरणादायी यात्रामार्फत विश्व पर्वतारोहण क्षेत्रमा अमिट छाप छोडेका छन्।







