साउन १६,पोखरा।।
पोखरा महानगरपालिका–१८ चिसाखोलास्थित विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा लगाइएको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पक्राउ पर्नेहरूमा सोही क्षेत्रकी ४२ वर्षीया मनदेवी क्षेत्री, ४१ वर्षीया इन्द्रा लामा, ४५ वर्षीया टिकामाया तामाङ र ४० वर्षीया मिनकुमारी गुरुङ रहेका छन्।
प्रहरीका अनुसार उनीहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालतबाट शुक्रबार सात दिनको म्याद थप गरी विस्तृत अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
आर्थिक रूपमा कमजोर परिवारका बालिकालाई विभिन्न प्रलोभन देखाएर अनैतिक क्रियाकलापमा संलग्न गराउने गरेको सूचनाका आधारमा प्रहरीले कारबाही अघि बढाएको हो। घटनास्थलबाट एक बालिकाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको र यस्ता गतिविधिमा संलग्न अन्य व्यक्तिहरूको पहिचान र नियन्त्रणका लागि पनि प्रयास जारी रहेको जनाएको छ।








