सीडीओदेखि कारागारसम्म प्रशासनिक संरचना फेरबदल, ९ जिल्ला सिडिओको ठाउँमा उपसचिव पठाइने
  • प्रमुख खबर

Oplus_131072

साउन २७, काठमाडौं ।।
सरकारले ९ वटा पहाडी तथा हिमाली जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा उपसचिव खटाउने निर्णय गरेसँगै ९ जना सहसचिवको दरबन्दी कटौती गरेको छ ।

सो निर्णायकसँगै सरकारले यसअघि सहसचिव प्रमुख जिल्ला अधिकारी रहने भोजपुर, खोटाङ, सल्यान, जाजरकोट, जुम्ला, रोल्पा, बैतडी, डडेल्धुरा र अछाममा अब उपसचिवलाई पठाइनेछ ।

गृह मन्त्रालयको नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार यस्तो निर्णय गरिएको हो। सरकारको यस निर्णयले अब ७७ जिल्ला मध्ये ५२ जिल्लामा मात्रै सहसचिव सीडीओ रहनेछन् । सह–सचिवको दरबन्दी रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उपसचिव खटाइने भएको छ ।

त्यस्तै मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कटौती भएका सहसचिवको दरबन्दीलाई सदुपयोग गर्दै मन्त्रालयअन्तर्गत नयाँ लागूऔषध नियन्त्रण विभाग गठन गरिने र जसको नेतृत्व सहसचिवले गर्नेछन् ।

यसबाहेक वालिङ र बर्दिबास इलाका प्रशासन तथा झापा, मोरङ, कास्की र बाँके कारागारमा उपसचिवको दरबन्दी थप गरिएको छ । नयाँ व्यवस्थाअनुसार ६ जना उपसचिव र ४६ जना शाखा अधिकृतको दरबन्दी थप भएको मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्