साउन २९, पोखरा ।।
प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशले अनलाइन माध्यमबाट दर्ता तथा नवीकरण गरेका सञ्चार संस्थाहरूलाई औपचारिक रूपमा प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ।
सेवाको औपचारिक शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका हुन् । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले प्रविधिको प्रयोगमार्फत सरकारी सेवा प्रवाहलाई सरल र सहज बनाउने प्रदेश सरकारको नीति रहेको बताए।
प्रदेशमा रहेका प्रसारण संस्थाहरूलाई सेवा सहज तथा अझै संघीय राजधानी जानुपर्ने बाँकी काम पनि क्रमशः सहजीकरण गर्दै लाने प्रतिवद्धता जनाए।
यस्तै गण्डकी प्रदेश प्रेस रजिष्ट्रार विमला भण्डारीका अनुसार सूचना तथा प्रसारण विभागबाट प्राप्त तथ्यांक कम्पाइल गरी विशेष सफ्टवेयर विकास गरेपछि यो अनलाइन सेवा सञ्चालनमा ल्याइएको हो, जसका लागि झन्डै पाँच महिना समय लागेको बताए ।
प्रदेशले गत श्रावण १ गतेदेखि नै अनलाइन नवीकरण सेवा खुला गरिसकेको थियो र सोही प्रक्रियाबाट नवीकरण पूरा गरेका रोधी टेलिभिजन, सिटी वन टेलिभिजन र हिमचुली एफएमलाई इजाजतपत्र नवीकरणको प्रमाणपत्र प्रदान गर्दै सेवाको औपचारिक थालनी गरिएको हो।
भण्डारीले प्रदेश भरिका प्रसारण संस्थाका सबै फाइलहरू कार्यालयमा नै उपलब्ध भइसकेकाले नवीकरणका क्रममा अन्योल नहुन र सिधै पोखरास्थित प्रदेश रजिष्ट्रारको कार्यालयमार्फत नै सम्पर्क गर्न सञ्चार संस्थाहरूलाई आग्रह गरिन । उनले भनिन,” केही प्रसारण संस्थाले नवीकरणबापतको राजस्व केन्द्रमा तिरेको हुँदा अब गण्डकी प्रदेशमै बुझाउन सकिने भएकाले यसले संस्थाहरूलाई आर्थिक र प्रशासनिक दुवै हिसाबले सहज हुन्छ ।”
प्रदेश समस्या समाधान समितिको हालैको बैठकबाट गण्डकी प्रदेश आम सञ्चार ऐन २०८० बमोजिम अनलाइन सञ्चार माध्यम तथा प्रसारण संस्थाको दर्ता–नवीकरणसँगै लाइसेन्स नवीकरण समेत प्रदेशबाटै हुने नीतिगत व्यवस्थाका लागि राष्ट्रिय विकास समस्या समाधान समितिमार्फत नेपाल सरकारसमक्ष अनुरोध गरिएको भण्डारीले जानकारी दिइन्।
प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीका अनुसार साउन १ गतेदेखि सुरु भएको सञ्चार संस्थाको नवीकरण असोज मसान्तसम्म गर्न सकिनेछ।
कार्यालयको अधिकार क्षेत्रअन्तर्गत गण्डकी प्रदेशभर हाल २५०, ५०० र १ हजार वाट प्रसारण क्षमताका ५० वटा रेडियो र १७ वटा केबल टेलिभिजन सञ्चालनमा रहेका छन्। यद्दपी १०० वाटसम्म प्रसारण क्षमता भएका रेडियोको नवीकरण भने अझै सूचना तथा प्रसारण विभागबाटै हुनेछ ।








