भदौ ७, काठमाडौं ।।
आज अन्तर्राष्ट्रिय दास व्यापार तथा उन्मूलन दिवस विभिन्न कार्यक्रम गरी विश्वभर यो दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का अनुसार हरेक वर्ष अगस्ट २३ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
विषेशगरी दास व्यापारको इतिहास, त्यसबाट मानव समुदायले भोग्नुपरेको पीडा तथा दासत्व उन्मूलनका लागि भएका सङ्घर्षको स्मरण गर्दै दास व्यापारविरुद्ध जनचेतना अभिवृद्धि गर्नु दिवसको मुख्य उद्देश्य रहेको छ ।
सन् १७९१ मा अहिलेको हाइटीको सेन्ट–डोमिङ्गमा अगस्ट २२ देखि २३ को रातमा सुरु भएको विद्रोहले दासत्व तथा अन्तर्राष्ट्रिय दास व्यापार उन्मूलनको अभियानमा महत्वपूर्ण भूमिका खेलेको थियो ।
युनेस्कोका अनुसार यो दिवस पहिलोपटक सन् १९९८ मा हाइटीमा तथा सन् १९९९ मा सेनेगलको गोरे द्वीपमा मनाइएको थियो । त्यसपछि यो दिवस दास व्यापार तथा दासत्वको इतिहासबारे स्मरण, अध्ययन र जनचेतना अभिवृद्धि गर्ने अन्तर्राष्ट्रिय अवसरका रूपमा विकसित भएको हो ।








