पहिरोको जोखिम बढेको भन्दै चीनले गर्यो तातोपानी नाका पनि बन्द
  • प्रमुख खबर

Oplus_131072

भदौ १६, तातोपानी ।।
नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी नाका पनि बन्द भएको छ । पहिरोको जोखिम बढेको भन्दै चीनले अर्को सूचना नभएसम्मका लागि सो नाका बन्द गरेको हो ।

यात्रु आवतजावत खुला रहे पनि लिपिङ क्षेत्र स्थिर नभएसम्म आयात–निर्यात पुनः सञ्चालन हुने सम्भावना कम रहेको छ । रसुवागढी नाका पनि बाढीले क्षतिग्रस्त भएपछि अब कोरला नाका मात्रै वैकल्पिक व्यापारिक मार्ग बनेको छ ।

गएको बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटका विभिन्न बस्ती बगाउनुअघि नेपाली व्यवसायीले तातोपानी, टिमुरे (रसुवागढी) र कोरला नाकाबाट चीनसँग व्यापार गर्दै आएका थिए ।

नेपालतर्फ लिपिङ क्षेत्रमा पहिरोको जोखिम बढेको भन्दै चीनले हिजोदेखि व्यापारिक प्रयोजनका लागि तातोपानी नाका बन्द गरेको हो ।

तातोपानी नाका साउनको शुरुदेखि करिब तीन हप्तासम्म पूर्ण रूपमा बन्द थियो । साउन तेस्रो हप्तादेखि सीमित रूपमा यातायात सञ्चालनमा आएको करिब १० दिनपछि रसुवामा बुधबार आएको भीषण बाढीपछि चिनियाँ पक्षले फेरि अर्को सूचना नभएसम्म तातोपानी नाका बन्द गरेको हो ।

तातोपानी भन्सार नाका लामो समयदेखि बन्द हुँदा सीमाका दुवैतर्फका व्यवसायी प्रभावित बनेका छन् । रसुवागढीको टिमुरे बजारसमेत बाढीले बगाएपछि नेपाल–चीन व्यापारमा थप समस्या सिर्जना भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्