भाद्र ३१, काठमाडौं ।।
भोटेकोशीको बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डमा पर्ने धादिङको कृष्णभीरमा ट्रयाक खोल्ने काम सकिएको छ । परीक्षणसँगै ग्यास बुलेट, सिलिन्डर र ट्याङ्कर पार भएका छन् । हिजो ४ वटा ग्यास बुलेट, भरिएका सिलिन्डर बोकेका २५ वटा ट्रक र ४० वटा पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर पार भएका हुन् । अब भोलि असोज १ गतेदेखि दुईतर्फी नै गाडी चलाउन मिल्ने गरी अन्तिम तयारी भैरहेको छ ।
सडक विभागकाअनुसार आज बेलुकासम्म ट्याकमा ग्राभेलको काम पुरा हुनेछ । बाढीले कृष्णभीरको सुरक्षा पर्खालमा क्षति पुर्याएको थियो भने भदौ १४ मा त्रिशूली नदीको कटानले पर्खाल नै भत्काएपछि यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको थियो ।सडक विभागका सिनियर डिभिजनल इन्जिनियर तथा नागढुङ्गा–नौबिसे–मुग्लिन सडकखण्डका आयोजना संयोजक सुरेश पौडेलका अनुसार बाढीका कारण चरौँदी क्षेत्रको सडकखण्डमा क्षति पुगेको थियो ।
त्यसलगत्तै पूर्वाधार विकास मन्त्रालयले आवश्यक अध्ययन गरेको थियो । मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटी (एनजीएस) को सहयोगमा चार दिनसम्म स्थलगत प्राविधिक अध्ययन गरेको थियो ।विज्ञहरुले कृष्णभीरको पहाड काटेर २५० मिटर लामो नयाँ ट्रयाक बनाउन पहिलो विकल्पका रुपमा सुझाव दिएका थिए । इन्जिनियर पौडेलकाअनुसार प्राविधिकसहितका ५० जनाले निरन्तर दैनिक १२ देखि १६ घण्टासम्म काम गरिरहेका छन् ।
नयाँ ट्रयाक सञ्चालनमा आएपछि माथिबाट पहिरो वा हिलो–लेदो खसेर सडक अवरुद्ध हुन सक्ने जोखिमलाई कम गर्नका लागि पनि तयारी भइसकेको छ । माथिबाट पहिरो आएमा तत्कालै हटाउनका लागि आवश्यक उपकरणहरु तयारी अवस्थामा राखिएका उहाँको भनाइ छ ।
कृष्णभीरको जोखिमलाई मध्यनजर गरी यो सडकखण्डको वैकल्पिक मार्गका रुपमा बेनीघाट–फिस्लिङसम्मको झण्डै २० किलोमिटर खण्डमा ट्रयाक खोल्ने काम पनि अघि बढेको छ । यो सडकमा यात्रुवाहक गाडी वैकल्पिक रुपमा सञ्चालन गर्न मिल्ने गरी तयारी गरिएको छ ।








