स्याङ्जा–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा पेशागत विज्ञतर्फ ई. सुदर्शन शर्माको आकांक्षा
  • प्रमुख खबर

असोज ७, स्याङ्गजा ।।
सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का महासचिव ई. सुदर्शन शर्माले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा स्याङ्जा निर्वाचन क्षेत्र नं. १ बाट पेशागत विज्ञतर्फ महाधिवेशन प्रतिनिधि बन्ने आकांक्षा सार्वजनिक गरेका छन्।

आफ्नो जन्मस्थान आँधीखोला–६ बाट सन्देश जारी गर्दै शर्माले महाधिवेशन प्रक्रिया सुरु भएसँगै आफू जिल्ला फर्किएको उल्लेख गरेका छन्। उनले स्याङ्जा कांग्रेसका नेता, कार्यकर्ता, साथीभाइ तथा शुभेच्छुकसँग साथ र सद्भावको अपेक्षा गरेका छन्।

शर्माले आफ्नो राजनीतिक, सामाजिक तथा पेशागत यात्राका विभिन्न पक्षसमेत सन्देशमा उल्लेख गरेका छन्। आफूले लामो समयदेखि कांग्रेस, समाज र पेशागत क्षेत्रमा काम गर्दै आएको उनको भनाइ छ।

पेशागत मुद्दामा संस्थागत सक्रियता सिडेनको महासचिवका रूपमा शर्मा इन्जिनियर समुदायका पेशागत विषयमा सक्रिय रहँदै आएका छन्। उनले इन्जिनियरहरूको पेशागत हकहित, न्यूनतम पारिश्रमिक, रोजगारी र पेशागत मर्यादाका विषयमा संस्थागत पहल गर्दै आएको बताएका छन्।

नेपाल इन्जिनियर्स एसोसिएसनको सदस्यता विस्तार तथा इन्जिनियर समुदायका साझा विषय सम्बन्धित निकायसम्म पुर्‍याउने काममा समेत आफ्नो भूमिका रहेको शर्माले उल्लेख गरेका छन्।

विपद प्रभावित क्षेत्रमा पुगेको दाबी शर्माले पछिल्लो समय विपद् प्रभावित क्षेत्रमा गरेको कामलाई पनि आफ्नो सन्देशमा समेटेका छन्। रसुवामा बाढीपछि सडक सम्पर्क विच्छेद भएका क्षेत्रमा पुगेर सेवा तथा सहयोगमा जुटेको उनले बताएका छन्।

प्रभावित नागरिकसम्म पुग्न आठदेखि दस घण्टासम्म पैदल यात्रा गरेको उनको भनाइ छ। विपद्का बेला प्रभावित समुदायसम्म पुग्नु सामाजिक दायित्व भएको उनले बताएका छन्।

क्षेत्रीय प्रतिनिधिको अनुभव स्मरण शर्माले यसअघि आँधीखोला–६ बाट क्षेत्रीय प्रतिनिधि बन्न प्राप्त सहयोग र सद्भावलाई समेत स्मरण गरेका छन्। उक्त सहयोगले आफूलाई दिएको आत्मीयता महत्वपूर्ण रहेको उनले बताएका छन्।

यसपटक स्याङ्जा निर्वाचन क्षेत्र नं. १ बाट पेशागत विज्ञतर्फ महाधिवेशन प्रतिनिधि बन्ने इच्छा राख्दै उनले आफूलाई चिन्ने र बुझ्ने नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट सहयोगको अपेक्षा गरेका छन्।

आफ्नो राजनीतिक तथा सामाजिक यात्रामा व्यक्तिगत उपलब्धिभन्दा सामूहिक सरोकारलाई प्राथमिकता दिएको शर्माको भनाइ छ। “म स्वयं मेरा बारे कम सोच्ने र सामूहिक हितबारे ज्यादा चिन्तन गर्ने स्वभावको भएकाले मैले स्वयंसमेत आफूबारे लामो व्याख्या गर्न नसकुँला,” उनले सन्देशमा भनेका छन्।

महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढ्ने आकांक्षा सार्वजनिक गर्दै शर्माले आगामी दिनमा थप प्रयास र जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।“थप कोसिस र दायित्वबाट चुक्ने छैन,” उनले भनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्