नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा सुमन पहारिको उम्मेदवारी

झण्डै दशक पछि पोखरा जेसीजले नेपाल जेसीजको राष्ट्रिय नेतृत्वमा उम्मेदवारी प्रस्तुत गर्दै ।।

  • प्रमुख खबर

कात्तिक १९, पोखरा ।।

पोखरा। पोखरा जेसीजका वर्तमान अध्यक्ष सुमन पहारिले नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। यही पुष ८, ९ र १० गते झापाको भद्रपुरमा भद्रपुर जेसीजको आतिथ्यतामा सम्पन्न हुन गइरहेको नेपाल जेसीजको ५३औँ राष्ट्रिय महाधिवेशनमा पहारिले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्।

सन् १९७५ मा स्थापना भइ आफ्नो संस्थागत यात्रामा हालसम्म चार जना राष्ट्रिय अध्यक्ष उत्पादन गरिसकेको पोखरा जेसीजले झण्डै आठ वर्षको अन्तरालमा पोखरा जेसीजले पुनः राष्ट्रिय नेतृत्वमा आफ्नो प्रतिनिधित्व अघि सारेको हो।

पोखरा जेसीजको संस्थागत गरिमा, नेतृत्व विकासको परम्परा र राष्ट्रिय स्तरमा सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित पहारिको उम्मेदवारीलाई पोखरा जेसीजले संस्थागत महत्त्वका साथ लिएको छ। उनको उम्मेदवारीलाई व्यवस्थित बनाउन तथा महाधिवेशनमा आवश्यक समन्वय र प्रचारप्रसारका गतिविधि सञ्चालन गर्न पोखरा जेसीजका निवर्तमान अध्यक्ष भाइराज रानामगरको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ। उक्त समितिले महाधिवेशनमा सहभागी विभिन्न शाखा, पूर्व तथा वर्तमान जेसीज नेतृत्व र प्रतिनिधिहरूसँग आवश्यक समन्वय गर्दै उम्मेदवारीसम्बन्धी प्रचारप्रसार तथा सम्पर्कका गतिविधिहरू सञ्चालन गर्नेछ।

पोखराको अग्रणि संस्था पोखरा जेसीजले आफ्नो स्थापनाकालदेखि नै युवाको नेतृत्व तथा व्यक्तित्व विकाससँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। आठ वर्षपछि राष्ट्रिय नेतृत्वमा पुनः उम्मेदवारी प्रस्तुत हुनुले संस्थाको राष्ट्रियस्तरको सहभागिता र नेतृत्व यात्रालाई थप निरन्तरता दिने अपेक्षा गरिएको छ। नेपाल जेसीजको ५३औँ राष्ट्रिय महाधिवेशनले एक राष्ट्रीय अध्यक्ष, चार राष्ट्रीय कार्यकारिणि उपाध्यक्ष र बाह्र जना राष्ट्रीय उपाध्यक्ष सहित नयाँ राष्ट्रिय नेतृत्व चयन गर्नुका साथै देशभरका जेसीजकर्मीबीच अनुभव, विचार र नेतृत्व विकासको आदानप्रदान गर्ने अवसरसमेत प्रदान गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्