चिया चपाउ: पोखराका चार युवतीको स्वादिलो स्टार्टअपले देखायो—नेपालमै सम्भावना छ!
  • सन्तोष पराजुली

पोखरा/ विदेश पलायनको लहरबीच पोखरा युनिभर्सिटीका चार युवतीहरूले नयाँ उदाहरण प्रस्तुत गरेका छन्। Bachelor in Entrepreneurship Development को आठौँ सेमेस्टरमा अध्ययनरत स्तुति थापा, मञ्जु तिवारी, युनिका भट्टराई र नम्रता पौडेल ले मिलेर “चिया चपाउ” नामक रचनात्मक र स्वादिलो स्टार्टअप सुरु गरेका छन्, जुन अहिले पृथ्वीनारायण क्याम्पसको गेट अगाडि धेरैको आकर्षणको केन्द्र बनेको छ।

शिक्षाबाट व्यवसायतिरको पाइला
शैक्षिक पाठ्यक्रम अन्तर्गतको practicum प्रोजेक्टलाई उनीहरूले केवल पाठ्यक्रम पूर्तिको निम्ति प्रयोग गरेनन्, बरु यसको माध्यमबाट आफ्नै व्यवसाय सुरु गरेर उदाहरणीय कदम चालेका छन्। सुरूवातमा सानो सोचसहित अघि बढेका उनीहरूको “चिया चपाउ” ले अहिले पोखराका युवादेखि वृद्धसमेतको मन जितिरहेको छ।

के छ विशेष “चपाउने चिया” मा?
उनीहरूले भारतबाट मगाएका edible cups (खान मिल्ने कप) मा चिया पस्कने अनौठो अवधारणाले सबैको ध्यान तानेको छ। यी कप चिया पिएपछि पनि खान सकिन्छ, जसले प्लास्टिक तथा डिस्पोजेबल कपको विकल्प दिन्छ।
यसको माग यति धेरै भयो कि भारतबाट मगाएको २५०० edible cup केवल दुई दिनमै सकियो

शनिबारसम्म आइपुग्छ एडिबल कप
कप सकिए पनि उनीहरूले चिया, खाजा, सेवाभाव र मुस्कान बाँडिरहे। ग्राहकलाई सन्तुष्ट बनाएर बिदा गर्नु नै उनीहरूको पहिलो प्राथमिकता हो। खाजा, तातो चिया र आत्मीय व्यवहारले ग्राहकहरू फेरि–फेरि आउने बनाएका छन्।

 ‘स्वदेशमै सम्भावना छ’
“विदेश नजाने निर्णय सजिलो थिएन, तर हामी नेपालमै केही गरेर देखाउने सपना देखिरहेका थियौं,” उनीहरू भन्छन्। उनीहरूको यो सोचले नकारात्मक सोचमा हुर्किरहेको नयाँ पुस्तालाई सकारात्मक प्रेरणा दिएको छ।
“चिया चपाउ” अहिले सिर्जनशीलता, साहस र उद्यमशीलताको जीवन्त उदाहरण बनेको छ। चिया बेचेर मात्र होइन, उनीहरूले देशमै व्यवसाय सुरु गर्ने सपना देख्नेहरूका लागि नयाँ ढोका खोलिदिएका छन्।

यी चार युवतीको प्रयासले देखाएको छ कि इच्छा, सोच, र मेहनतको सही मेल मिल्यो भने नेपालमै केही पनि सम्भव छ।
“चिया चपाउ” केवल एक स्टार्टअप होइन, यो सपना चपाउने होइन, “सपना सच्याउनेउदाहरण हो।

तपाईको प्रतिक्रिया दिनुहोस्