पोखरा/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री डा. टकराज गुरुङले प्रदेशको विकासका लागि अधुरा योजना सम्पन्न गर्ने लक्ष्यसहितको समावेशी र उत्पादनमुखी बजेट ल्याइएको बताएका छन्।
यस बजेटमा कुल विनियोजनमध्ये १२ अर्ब ६३ करोड रुपैयाँ चालू खर्चका लागि छुट्याइएको छ, जुन कुल बजेटको करिब ३९.५ प्रतिशत हो। पूँजीगत खर्चतर्फ १९ अर्ब ९ करोड विनियोजन गरिएको छ, जुन ५९.७ प्रतिशत हो भने वित्तीय व्यवस्थाका लागि २५ करोड छुट्याइएको छ, जसले ०.८ प्रतिशत ओगट्छ।
बजेटको स्रोतमा संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान प्रमुख रहँदै आएको छ। आगामी वर्षमा प्रदेशले यस शीर्षकमा ७ अर्ब ७३ करोड रुपैयाँ पाउने अपेक्षा गरिएको छ। यस्तै, राजस्व बाँडफाँटबाट ९ अर्ब ७९ करोड, रोयल्टी बाँडफाँटबाट ४९ करोड ८९ लाख, सशर्त अनुदानबाट ३ अर्ब ३५ करोड, समपूरक अनुदानबाट ६३ करोड ९७ लाख र विशेष अनुदानबाट ४९ करोड ८६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
आन्तरिक राजस्वबाट ५ अर्ब ४५ करोड ८४ लाख संकलन हुने अपेक्षा गरिएको छ। चालु आर्थिक वर्षको अन्त्यमा २ अर्ब २४ करोड रुपैयाँ नगद मौज्दात रहने अनुमान गरिएको छ भने बजेटमा देखिएको कमी पूर्ति गर्न प्रदेश सरकारले १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋण लिने योजना बनाएको छ। अर्थमन्त्री गुरुङका अनुसार यस आन्तरिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरिनेछ।
सरकारले यस वर्ष अधुरा योजनाहरूलाई सम्पन्न गर्ने प्राथमिकता दिएको छ। पर्यटन, खानेपानी, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको छ। सबैभन्दा बढी बजेट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिइएको छ, जसको लागि ११ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यसपछि ऊर्ज, जलस्रोत तथा खानेपानी मन्त्रालयलाई ३ अर्ब ८८ करोड र स्वास्थ्य मन्त्रालयलाई ३ अर्ब ३२ करोड रुपैयाँ दिइएको छ। सामाजिक विकास मन्त्रालयले २ अर्ब ३९ करोड पाएको छ भने वन तथा वातावरण मन्त्रालयलाई १ अर्ब ६ करोड र उद्योग तथा पर्यटन मन्त्रालयलाई ८४ करोड २१ लाख रुपैयाँ मात्रै छुट्याइएको छ।
गत वर्ष ३२ अर्ब ९६ करोडको बजेट ल्याएको प्रदेश सरकारले हालसम्म ४८ प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ। यस पृष्ठभूमिमा यो वर्षको बजेट यथार्थपरक, व्यावहारिक र कार्यान्वयनमुखी हुने अपेक्षा गरिएको छ।









