आगामी आर्थिक वर्षका लागि पोखरा महानगरले ल्यायोे ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट
  • प्रमुख खबर

पोखरा ।।

देशकै ठुलो महानगरपालिका पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि बजेट प्रस्तुत गरेको छ।

महानगरपालिकाको १७ औं नगरसभामा उप-प्रमुख मञ्जुदेवी गुरुङले नयाँ आर्थिक वर्षका लागि आइतबार बजेट प्रस्तुत गरेकी हुन्।

चालु आर्थिक वर्ष २०८१÷०८२ मा महानगरपालिकाले ७ अर्ब ५१ करोड ३२ लाखको बजेट ल्याएकोमा आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि भने ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको छ।

यो चालु आर्थिक वर्षको बजेट भन्दा ८३ करोड ८० लाख रुपैयाँले बढी हो । तर जेठ मसान्तरसम्म ४ अर्ब १६ करोड ५२ लाख ६४ हजार अर्थात ५५.४३ प्रतिशत मात्रै खर्च भएको महानगरले जनाएको छ ।

महानगरद्वारा प्रस्तुत उक्त बजेटको मुख्य प्राथमिकतामा पर्यटकिय पूर्वाधारको विकास, उत्पादनमूलक कृषि प्रणाली, शहरी विकास, सामाजिक न्याय, शिक्षा र स्वास्थ्य सेवालाई समेटेको छ।

जसअन्तर्गत नगर कार्यपालिकाको कार्यालय तर्फ ९५ करोड, सामाजिक विकास तर्फ ३८ करोड, आर्थिक विकासमा १८ करोड, वडा कार्यालयमा १ अर्ब, पूर्वाधारतर्फ २ अर्ब ३३ करोड , शहरी विकास, पर्यटन, वन तथा वातावरणतर्फ ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको उप- प्रमुख गुरुङले बताएकी छन् ।

विभिन्न शीर्षकमा छुटाईएको बजेटको आकार अनुसार
यस वर्षपनि पूर्वाधार निर्माणमा सबैभन्दा धेरै बजेट २ अर्ब ३३ करोड विनियोजन गरेको छ। यो कुल बजेटको ४४.६४ प्रतिशत हो ।

यसैगरी अवैध कार्य नियन्त्रण, भवन निर्माणमा सहुलियत, कर भुक्तानीमा प्रोत्साहन, पुनःनिर्माण तथा राहतकार्य, पत्रकारिता र सञ्चार क्षेत्रको प्रवर्द्धनका लागि पनि महानगरले बजेट विनियोजन गरेको छ।

यस्तै बजेट प्रस्तुत हुनु अघि आइतबार नै महानगर प्रमुख धनराज आचार्यले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रमुख कार्यक्रमहरूमा ग्रामीण र विकट क्षेत्रमा घरदैलो सेवाका लागि घुम्ती शिविर सञ्चालन, कर्मचारी र जनप्रतिनिधि तथा सञ्चारकर्मीको क्षमता विकासका लागि तालिम, सेवा र सुविधा प्रतिक्रिया संकलन, सूचना अधिकार कानून कार्यान्वयन, विपद् व्यवस्थापन, कानुनी कार्यवाही तथा प्रहरीको सुरक्षा सामग्री खरिद, कर प्रणाली डिजिटल बनाउन र कर दायरालाई फराकिलो बनाउने योजना समावेश छन्।

महानगरले वातावरण संरक्षण, पर्यटक प्रवर्द्धन, समावेशी विकास र दिगो पूर्वाधारमा जोड दिएको छ। यस बजेटले पोखरालाई सभ्य, सुसंस्कृत र व्यवस्थित शहर बनाउन र सामाजिक समानता स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा समेत महानगर प्रमुख आचार्यले बताए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्