पोखरा ।।
नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित “सञ्चारकर्मी दौड प्रतियोगिता” पोखरामा शनिबार सम्पन्न भएको छ । ५ किलोमिटर सञ्चारकर्मी सडक दौडमा महिला तर्फ सरिता र पुरुष तर्फ दिलिप थारु प्रथम भएका छन् ।समाधान दैनिकका थारुले २१ मिनेट ०७ सेकेण्डमा दौड पुरा गर्दा प्रमुख मिडियाकी सरिता गुरुङले ३० मिनेट ४३.०६ सेकेण्डमा फिनिश लाइन पार गरिन्।
त्यसैगरी, गोल नेपालका अर्जुन हिताङले २२ मिनेट १३ सेकेण्डमा दौड पुरा गर्दै पुरुषतर्फ दोस्रो स्थान पाए भने समाधान दैनिककै भिमपाणी बराल तेस्रो भए। पब्लिक फोरके टिभिका रिखीराम जिशी चौथो र मयुर टाइम्सका प्रविन मगर पाँचौं स्थानमा परे। महिला समूहमा भने कास्की पत्रकार महासंघकी उपाध्यक्ष कन्चन थापा कोइराला दोस्रो, प्राइम टिभीकी अनिता घिमिरे तेस्रो र मयुर टाइम्सकी प्रशन्ना मानन्धर चौथो स्थानमा रहिन्।

त्यसैगरी, मासिक रुपमा हुँदै आएको नियमित छात्र–छात्रा ५ किमि दौडमा छोरेपाटन माविका तिल बहादुर परियार पहिलो, प्रकाश थिङ दोस्रो र आयुष सुनार तेस्रो भए। विष्णु पादुकाका विष्णु परियार चौथो र बराह माविका सुमन ढुङ्गाना पाँचौं भए। छात्रातर्फ मेघराज माविकी एन्जिला जिटीले पहिलो स्थान हात पारिन् भने श्रीकृष्ण माविकी स्मृति विक दोस्रो, अमरसिंह माविकी एलिना कार्की तेस्रो र सेन्ट मेरिजकी उपासना जोइ गुरुङ चौथो स्थानमा आइन्।
कार्यक्रमका विजेताहरूलाई अग्रज पत्रकार नारायण कार्की, बद्रि विनोद प्रतिक, कृष्ण प्रसाद बाँस्तोला, मञ्चका सल्लाहकार तिलक केसी, संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट लगायतले पदक, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरे। मञ्चका महासचिव केशव पाठकले बताए अनुसार, ‘१२ महिना १२ कार्यक्रम’ योजना अन्तर्गत यो दौड आयोजना गरिएको हो। मञ्चले हरेक वर्ष फागुन महिनाको पहिलो शनिबार ४२ किमिको पोखरा म्याराथन प्रतियोगिता पनि आयोजना गर्दै आएको छ ।













